बल्खु तरकारी बजारमा डुबान

बल्खु तरकारी बजारमा डुबान



काठमाडौं । अविरल वर्षातका कारण काठमाडौंको बल्खुस्थित तरकारी बजार डुबानमा परेको छ ।

शुक्रबार दिनभरि परेको पानीले बागमती नदीछेउको तरकारी बजारमा भेल पसेको हो ।

बाढी पस्न थालेपछि व्यवसायीहरूले तरकारी अन्यत्र सारिरहेका छन् । कतिपय व्यवसायीको तरकारी र फलफूलको कबलमा पानी पसिसकेको छ ।

नदी किनारमै भएकाले ठूला पानी पर्नेबित्तिकै त्यहाँको तरकारी, फलफूल बजार डुब्ने गरेको छ ।

देशको पूर्वी, मध्य भू–भागसँगै काठमाडौं उपत्यकामा पनि भारी वर्षा भइरहेको छ । ललितपुरको लेलेमा वर्षाले सतर्कता तह पार गरेको छ । लेलेमा पछिल्लो २४ घन्टामा १५१.२ मिलिमिटर वर्षा भएको छ ।

त्यसैगरी बागमती नदीले खोकना क्षेत्रमा खतराको तह पार गरेको छ । शुक्रबार साँझ ५ बजेसम्म पानीको तह ४ दशमलव ८९ मिटर बढेर खतराको तह पार गरेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।

देशभरका ४४ वटा खोला तथा नदीमा बाढीको मात्रा अत्यधिक बढिरहेको विभागले जनाएको छ ।