काभ्रेको रोशीमा फसेका यात्रुलाई उद्धार गर्न हेलिकप्टर परिचालन

काभ्रेको रोशीमा फसेका यात्रुलाई उद्धार गर्न हेलिकप्टर परिचालन



काभ्रे । तीन दिनसम्म परेको वर्षाका कारण बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाको विभिन्न ठाउँमा सडक नै बगाएपछि अलपत्र परेका यात्रुको उद्धार गर्न हेलिकप्टर परिचालन गरिएको छ । सदरमुकाम धुलिखेलबाट नेपाली सेनाको हेलिकप्टर पानी, खाद्यान्नसहितका राहत सामग्री बोकेर बिहान पौने १० बजे त्यसतर्फ गएको छ ।

हिजो शनिवार साँझ नेपाली सेनाको हेलिकप्टरबाट उद्धारको प्रयास गरिएको भए पनि सफल हुन सकेको थिएन । खाद्यान्नसहित उडेको हेलिकप्टर अवतरणका लागि उचित ठाउँ नपाएपछि पुनः धुलिखेल फर्किएको जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतमले बताए । उनका अनुसार त्यस क्षेत्रमा फसेकालाई सेनाको हेलिकप्टरमार्फत उद्धार गर्न आज विहानैबाट तयारी थालिएको थियो ।

सडक सम्पर्कविच्छेद भएपछि राजमार्गमा करिब एक सय ५० यात्रु अलपत्र अवस्था रहेको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए । उनीहरुमध्ये बिरामी, अशक्त र वृद्धवृद्धालाई पहिलो प्राथमितामा राखेर उद्धार गरिनेछ । उनीहरूलाई धुलिखेल र भकुण्डे ल्याइनेछ । लामाका अनुसार नार्के बजारमा १२ घर पहिरोमा परेका छन् । करिब दुई सय स्थानीय शरणमा बसेका छन् । रोशीमा ११ जनाको ज्यान गएको छ ।