ललितपुरको दक्षिणी भेग सडक, बिजुली र सञ्चार सम्पर्कविहीन

ललितपुरको दक्षिणी भेग सडक, बिजुली र सञ्चार सम्पर्कविहीन



ललितपुर । गएको बिहीवार रातिदेखि परेको अविरल वर्षाका कारण ललितपुरको दक्षिणी भेगका तीन वटा पालिकाका सडक, बिजुली र सञ्चार सम्पर्कविहीन भएका छन् ।

विपत्तिका कारण महाङ्काल, बाग्मती र कोञ्ज्योसोम गाउँपालिकाका स्थानीयवासीले जनधनको क्षति व्यहोर्नुपरेको भन्दै राहत तथा उद्धारका लागि सञ्चार समन्वयसमेत हुन नसकेको महाङ्काल गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसीले जानकारी दिए । उनले लेले–चन्दनपुर सडक, मध्यमार्गी लोकमार्ग बन्द भएको र ठाउँठाउँमा बिजुलीका पोल ढलेका बताए । उद्धार गरिएकालाई थप उपचारका लागि ल्याउन नसकिएको उनको भनाइ छ ।

बाग्मती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले कान्ति लोकपथ अवरुद्ध हुँदा गाडी प्रयोग गरेर राहत तथा उद्धार गर्न नसकिएको बताए । उनले माल्टा र आश्राङमा गरी चार वटा घर बगाएको र गिम्दीमा झोलुङ्गे पुल बगाएको जानकारी गराए । कतिपय ठाउँमा खानेपानीको पाइप नष्ट भएका र भट्टेडाँडामा एउटा गोठ पुरिएर पाँच वटा दुहुना भैँसी पुरिएका जानकारी आएको उनको भनाइ छ ।

कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले ठोट्ने खोलामा सबैभन्दा बढी क्षति भएको बताउँदै बाढीका कारण १५ वटाभन्दा बढी घर पूर्णरूपमा क्षति भएका जानकारी दिए । बाग्मती गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर दर्लामीले सञ्चार सम्पर्क, बिजुली र सडक सञ्जाल यथाशीघ्र सञ्चालनमा ल्याउन सहजीकरण गरिदिन जिल्ला विपद् समितिसँग आग्रह गरे ।

यसैबीच नख्खु खोलाको बाढी नेपाल मेडिसिटी अस्पतालमा छिरेर डुबान भएपछि त्यहाँ उपचाररत ५० जनाभन्दा धेरै बिरामीलाई काठमाण्डौका विभिन्न अस्पतालमा स्तानान्तरण गरिएको छ । आईसीयूमा उपचाररतसहितका बिरामीलाई स्थानान्तरण गरिएको अस्पतालले जनाएको छ ।