सडक खुलेपछि काठमाडौं भित्रिए सवारीसाधन

सडक खुलेपछि काठमाडौं भित्रिए सवारीसाधन



काठमाडौं । पृथ्वी राजमार्ग अन्र्तगत धादिङको झ्याप्ले खाेलामा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका एक हजार ७०७ सवारीसाधन काठमाण्डौं उपत्यका भित्रिएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले आइतबार साझँदेखि झ्याप्लेमा अवरुद्ध सडक खुलेयता अलपत्र यात्रुहरुसहित लिएर सयौं सवारीसाधन काठमाडौं भित्रिएको जानकारी दिए ।

त्यसैगरी सोमबार दिउँसोपछि काठमाडौंबाट पनि सो राजमार्ग भएर सवारीसाधन पठाउने तयारीमा प्रहरी खटिएको प्रवक्ता तिवारीले जानकारी दिए ।

त्यसैगरी सोमबार दिउँसो गृहमन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक समेत बसेको छ । बैठकमा सुरक्षा निकायका प्रमुखहरुले बाढी, पहिरो, डुबान तथा विपद्मा भइरहेको उद्दार, राहत, घाइतेको उपचार र अवरुद्ध सडक खुलाउने विषयमा भइरहेको जानकारी गराएका छन् ।

आज साझँसम्म काभ्रेपलान्चोकको बीपी राजमार्ग अन्तर्गत  रोशी खोलामा अलपत्र परेका सबै यात्रुहरुको उद्दार भइसक्ने प्रवक्ता तिवारीले जानकारी दिए । अहिले त्यहाँ नेपाली सेनासहित सुरक्षाकर्मीको टोली हवाइ उद्दारदेखि डोरीको सहायताबाट समेत अलपत्र यात्रुहरुको उद्दार निरन्तर गरिरहेको उनले बताए ।

अहिले विस्तारै सडक खुल्ने र खुलाउने क्रममा रहेको र अझै पहिरो लगायत जोखिम टरिसकेको बताउदै उनले अवरुद्ध सडक सुचारु गर्न सरोकारवाल निकायका साथै मुलुकका विभिन्न स्थानमा सुरक्षाकर्मीको टोली समेत परिचालन भएको बताए ।

तर नागढुंगा–नौबिसे हुँदै मुग्लिनसम्म नै विभिन्न ठाउँमा ठूला पहिरो झरेकाले ठाउँठाउँमा सडक एकतर्फी मात्रै खुलेको छ । काठमाडौंबाट एकैपटक धेरै गाडी छुटेमा एकतर्फी सडक भएका ठाउँमा ठूलो जाम पर्न सक्ने जोखिम छ ।

अझै पनि अत्यावश्यक कामबाहेक यात्रा नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।