समोसामा कीरा भेटिएपछि सिरहाको एक होटललाई २० हजार रुपैयाँ जरीमाना

समोसामा कीरा भेटिएपछि सिरहाको एक होटललाई २० हजार रुपैयाँ जरीमाना



सिरहा । समोसामा कीरा भेटिएपछि सिरहाको एक होटललाई २० हजार रुपैयाँ जरीमाना गरिएको छ । ग्राहकको स्वास्थ्यमा खेलबाड गरेको भन्दै लहानको माखन भोग होटललाई खाद्य तथा गुण नियन्त्रण कार्यालयले जरीमाना गरेकाे हाे ।

लहान नगरपालिकाका उपमेयर राम चलितर महतोको नेतृत्वमा खाद्य तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्चसहितको संयुक्त टोलीले हिजो बजार अनुगमन गरेको थियो ।

अनुगमन टोलीले कृष्णा सप्लायर्समा पनि लाखौं रुपैयाँ बराबरको म्याद गुज्रिएको पेयपदार्थ फेला परेको छ । कृष्णा सप्लायर्सलाई तीन दिनभित्र म्याद गुज्रिएका पेयपदार्थ नष्ट गर्न समय दिइएको छ । त्यस्तै ऋषिजल पानी कम्पनीले ‘मिनरल वाटर’ को मूल्य बढी राखेर उपभोक्तालाई बिक्री गर्ने गरेको पाइएको छ । ऋषिजल पानी कम्पनीलाई स्पष्टीकरण सोधिएको छ ।

संविधानले बजार अनुमगन र व्यवस्थापनको जिम्मा पालिकालाई दिएको छ ।