काठमाडौं ल्याइयो दसैंका लागि मुस्ताङका च्याङ्ग्रा

काठमाडौं ल्याइयो दसैंका लागि मुस्ताङका च्याङ्ग्रा



काठमाडौं । दसैंका लागि बिक्री गर्न मुस्ताङबाट च्याङ्ग्रा काठमाडौं ल्याइएको छ । काठमाडौंको कलंकीस्थित खसी बजारमा बिहीबारदेखि च्याङ्गा बिक्रीका लागि राखिएको छ ।

घटस्थापनाका दिन ७९ वटा च्याङ्गा बिक्रीका लागि ल्याइएको व्यवसायीहरूले जानकारी दिएका छन् । जिउँदो च्याङ्गा प्रतिकेजी १३ सय रुपैयाँका दरले बिक्री भइरहेको छ ।

काठमाडौंमा मुस्ताङका भेडाच्याङ्गाको मासुको माग बढ्दो छ ।

जडिबुटीयुक्त बुकीमा चरेका च्याङ्ग्राको मासु पोषिलो, तागतिलो र स्वस्थकर मानिन्छ। दसैँ तिहारमा हिमाली च्याङ्ग्राको मासुको खपत बढी हुने गर्छ ।

मुस्ताङबाट म्याग्दीको बेनीसम्म दुईदेखि तीन दिन हिँडाएर ल्याएका च्याङ्ग्रा बेनीदेखि ट्रक र गाडीमा राखेर देशका विभिन्न ठाउँमा लैजाने गरिन्छ ।

तीन वर्ष पूरा भएका च्याङ्ग्रा मासुका लागि बिक्री गर्ने गरिन्छ। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा ५० हजारभन्दा बढी च्याङ्ग्रा पालिएका छन्। उपल्लो मुस्ताङका कृषकको मुख्य आयस्रोत च्याङ्ग्रापालन हो ।