निर्माण उद्योगका लाखौं कर्मचारीको दशैं खल्लो हुने !

निर्माण उद्योगका लाखौं कर्मचारीको दशैं खल्लो हुने !


ग्लोब नेपाल
324
Shares

काठमाडौं । निर्माण उद्योगका लाखौं कर्मचारीको यो दशैं खल्लो हुने भएको छ । निर्माण सम्पन्न भइसकेपछि पनि राज्यले भुक्तानी नदिँदा व्यवसायीले कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्था सिर्जना भएको हो । नेपाल निर्माण व्यवसायी महासंघका अनुसार राज्यले व्यवसायीको ४५ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

चाँडबाँड मुखमै आइसक्दा पनि राज्यले व्यवसायीको भुक्तानी गर्ने संकेतसमेत गरेको छैन । महासंघका पदाधिकारीले अर्थमन्त्री विष्णु पौडेलसँगको भेटबाट भुक्तानी प्राप्त गर्ने कुनै संकेत नपाएपछि व्यवसायी निराश भएका हुन् । जसको परिणामस्वरुप हजारौं व्यवसायी र उनीहरुसँग आश्रित कर्मचारी र मजदुरको बिचल्ली हुने अवस्था सिर्जना भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।

गत साता लगातार वर्षाले निर्माण उद्योगमा अर्बौ रुपैयाँको क्षति पुगेको छ । सञ्चालनमा रहेका कतिपय आयोजना ध्वस्त मात्र भएका छैनन्, नाम निशनासमेत मेटिएको छ । धेरै व्यवसायीको निर्माण सामाग्री खोलामा बगेका छन् भने निर्माण उद्योगका इक्युपमेन्ट काम नलाग्ने अवस्थामा पुगेको छ ।

महासंघका अध्यक्ष रवि सिंहले भने, विगत लामो समयदेखि राज्यले राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना, संघीयबाट प्रदेश र स्थानीय सरकारमा हस्तान्तरण भएका आयोजना र स्थानीय आयोजनाहरुको निर्माण व्यवसायीहरुलाई भुक्तानी गर्नुपर्ने दायित्व करिब ४५ करोड रुपैयाँ रहेको छ ।

समयमा भुक्तानी नहुँदा व्यवसायीहरुको बैंक किस्ता तथा राज्यलाई बुझाउनुपर्ने करसमेत बुझाउन नसकेको महासंघको भनाइ छ । त्यसले समग्रमा आपूर्ति चक्र र अस्तव्यस्त भइ निर्माणसँग सम्बन्धित उद्योग नै बन्द हुने स्थिति बनेको महासंघको भनाइ छ ।