कांग्रेस नेतृ अधिकारीको नेतृत्वमा पत्रकार महासंघको भेला !

कांग्रेस नेतृ अधिकारीको नेतृत्वमा पत्रकार महासंघको भेला !


ग्लोब नेपाल
108
Shares

काठमाडौं । पटकपटक निर्धारित मितिमा निर्वाचन गराउन असफल नेपाल पत्रकार महासंघका जिल्ला र प्रदेश अध्यक्षहरुको भेला आज हुँदैछ ।

भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको केन्द्रीय तालिम केन्द्रमा भेला आयोजना गरिएको छ । भेलामा ७७ मध्ये ५० प्रतिशतभन्दा कम जिल्लाका मात्र अध्यक्ष उपस्थित भएको एक पदाधिकारीले जानकारी दिए ।

विविध कारणले उपस्थित हुन नसक्नेलाई भर्चुअल माध्यमबाट भेलामा सहभागी गराउने तयारी छ । भेलामा १० वटै प्रदेश (७ प्रदेशसहित उपत्यका, प्रतिष्ठान र एसोसिएट) का अध्यक्ष र महासंघका पूर्वअध्यक्षहरुलाई पनि आमन्त्रण गरिएको छ ।

महासंघको ९ असोजमा बसेको केन्द्रीय समिति बैठकले जिल्ला र प्रदेश अध्यक्षहरुको भेला बोलाउने निर्णय गरेको थियो । भेलाले निर्वाचन मिति तोक्ने सम्भावना छ ।

सदस्यता विवादका कारण लामो समयसम्म महासंघले महाधिवेशन गर्न सकेको छैन । महासंघले गत २६ जेठ, २२ असार र ५ असोजमा गरी तीनपटकसम्म तोकेको निर्वाचन हुन सकेन ।

निर्वाचन गराउन असफल भएको नैतिक जिम्मेवारी लिँदै अध्यक्ष विपुल पोखरले र कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् । विष्टले राजीनामा दिनुअघि महासंघ छाडेको घोषणा गरिसकेकी उपाध्यक्ष बाला अधिकारीलाई कार्यबाहक तोकेका थिए उनी काँग्रेस महाधिवेशन प्रतिनिधि हुन् ।

१४औं महाधिवेशनमा प्रतिनिधि रहेकी उनी १३औं र १४औं महाविधेशनको बीचमा महासमिति सदस्य थिइन् । अरु उपाध्यक्ष हुँदाहुँदै पार्टीको सक्रिय राजनीतिमा रहेकी अधकिारीलाई कार्यबाहकको जिम्मेवारी दिइएको भन्दै महासंघभित्र तीव्र असन्तुष्टि छ ।