सुदूरपश्चिम र कर्णालीबाट बाहिरिन सुरु भयो मनसुन

सुदूरपश्चिम र कर्णालीबाट बाहिरिन सुरु भयो मनसुन



काठमाडौं । नेपालका केही भूभागबाट यो वर्षको मनसुन बाहिरिएको छ । आइतबार सुदूरपश्चिमसहित कर्णालीका धेरै र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागका थोरै स्थानबाट मनसुन बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ ।

“मनसुनी वायु कमजोर हुँदै गइरहेको हुनाले नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको देखिन्छ,” आइतबार महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

नियमित रूपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेको र यससम्बन्धी थप जानकारी अद्यावधिक गर्दै जाने महाशाखाले जनाएको छ ।

नेपालबाट पूर्ण रूपमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ हो । भित्रने औसत मिति जुन १३ हो । हरेक वर्ष सरदर मितिभन्दा केही दिन ढिलो वा चाँडो पनि मनसुन बाहिरिने र भित्रने मौसमविद्ले बताउँदै आएका छन् ।

मनसुन बाहिरिने क्रम सुदूरपश्चिम प्रदेशबाट सुरु हुन्छ । त्यसपछि क्रमिक रूपमा कोसी प्रदेश हुँदै बहिर्गमन हुन्छ । यसको प्रवेश जुनमा कोसीबाट हुन्छ । विस्तारै त्यो फैलिएर सुदूरपश्चिमसम्म पुग्छ ।