यो वर्ष हिउँदमा धेरै पानी पर्ने, जाडो पनि कम हुने

यो वर्ष हिउँदमा धेरै पानी पर्ने, जाडो पनि कम हुने


ग्लोब नेपाल
54
Shares

काठमाडौं । यो वर्षको हिउँदमा औसतभन्दा धेरै पानी पर्ने भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले पानी धेरै पर्ने र अघिल्ला वर्षहरुको तुलनामा जाडो कम हुने प्रक्षेपण गरेको छ । विभागको गरेको ऋतुगत आकलनअनुसार यो वर्ष असोज १५देखि पुस १६ गतेसम्म वर्षा र न्यायो बढी हुनेछ ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका दक्षिण—पूर्वी भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी भू—भागमा सरदरभन्दा बढी वर्षा हुने अनुमान विभागको छ । कर्णाली प्रदेशका मध्य तथा उत्तरी भू—भाग र सुदूरपश्चिम प्रदेशका उत्तरी भू—भागमा भने सरदरभन्दा कम वर्षा हुने प्रक्षेपित छ ।
कोशी प्रदेशको उत्तरी भू—भाग, मधेस प्रदेशको पश्चिमी पश्चिमी भू—भाग र बागमती प्रदेशको पूर्वी तथा दक्षिणी भू—भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ ।

कोशी प्रदेशको दक्षिणी भू—भाग, मधेस प्रदेशको पश्चिमी भू—भाग, बागमती प्रदेशको उत्तर—पश्चिम भू—भाग र गण्डकी प्रदेशको दक्षिण—पूर्वी भू—भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ ।

कर्णाली प्रदेशका मध्य तथा उत्तरी भू—भाग र सुदूरपश्चिम प्रदेशका उत्तरी भू—भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ र देशका बाँकी भू–भागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ ।

बागमती प्रदेशको मध्य तथा दक्षिणी भू—भाग, मधेस प्रदेशको पश्चिमी भू—भाग, गण्डकी प्रदेशको मध्य तथा पश्चिमी भू—भाग, लुम्बिनी प्रदेशका मध्य तथा पूर्वी भू—भाग र कर्णाली प्रदेशको पूर्वी तथा उत्तरी भू—भागमा सरदरभन्दा बढी अधिकतम तापक्रम हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ ।

विगतको तुलनामा यो वर्ष मनसुन अवधिमा पनि वर्षात बढी भएको थियो । जेठ १८ देखि असोज १४ १७ सय मिलिमिटरभन्दा बढी वर्षात भएको थियो । विभागको तथ्यांकअनुसार यो सरदरभन्दा १६ प्रतिशतले बढी हो ।

यो वर्ष विभागका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका पश्चिमी भू–भाग र लुम्बिनी प्रदेशका पश्चिमी भू–भागमा अधिकतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ ।

त्यसैगरी कर्णाली प्रदेशका पूर्वी भू–भाग, लुम्बिनी प्रदेशका मध्य भू–भाग, गण्डकी प्रदेशका मध्य तथा उत्तरी भू–भाग, बागमती प्रदेशको अधिकांश भू–भाग, मधेश प्रदेशका पूर्वी भू–भाग र कोशी प्रदेशमा अधिकतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ भने बाँकी भू–भागमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ ।

विभागले विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीय स्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको हावापानी प्रारूपहरूको आकलनलाई आधार मानेको यो प्रक्षेपण गरिएको जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागको हावापानी आकलन गर्ने प्रविधि र दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चको आकलनको आधारमा प्रक्षेपण गरिएको पनि विभागले जनाएको छ ।