नेपालका बाढी पहिरो पीडितलाई सहयोग गर्न हेल्प नेपाल नेटवर्कको आह्वान

नेपालका बाढी पहिरो पीडितलाई सहयोग गर्न हेल्प नेपाल नेटवर्कको आह्वान


ग्लोब नेपाल
432
Shares

अमेरिका । नेपालमा शिक्षा, स्वास्थ्य तथा आपत्कालीन मानवीय सहायताको क्षेत्रमा काम गर्दै आएको संस्था हेल्प नेपाल नेटवर्कले नेपालका बाढी पहिरो प्रभावितका लागि सक्दो सहयोग गर्न संसारभरि रहेका नेपालीहरु तथा नेपालका मित्रहरुलाई आह्वान गरेको छ।

हेल्प नेपाल नेटवर्कले सिन्धुपाल्चोक जिल्लाका इन्द्रावती तथा बेल्फी गाउँपालिकाका २२ बाढी पीडित परिवारहरुका लागि खाद्यान्न, टर्पोलिनलगायतका सामग्री वितरण गरेको थियो।

“हामीलाई देशै भरिबाट बाढी पीडित परिवारका लागि खाद्यान्न, टर्पोलिन लगायतका सामग्री उपलब्ध गराउन माग आइरहेको छ। विगतमा झैं यो मानवीय कार्यमा सघाउन हामी अमेरिकामा रहेका प्रवासी नेपालीहरु, नेपाली संघसंस्था तथा नेपालका मित्रहरुलाई हार्दिक अपिल गर्दछौं,” हेल्प नेपाल नेटवर्क अमेरिका च्याप्टरका अध्यक्ष ज्वलन्त श्रेष्ठले भने। उनले संकलित सम्पूर्ण रकम बाढी तथा पहिरो पीडितहरुको सहयोगार्थ पठाइने र कुनै पनि प्रशासनिक काममा खर्च नगरिने पनि जनाए।

हेल्प नेपाल नेटवर्क अमेरिका च्याप्टरले ‘गो फन्ड मी’ तथा zeffy.com मा गएर मन खोलेर सहयोग गर्न आग्रह गरेको छ।

https://www.gofundme.com/f/nepal-flood-landslide-relief-appeal-2024

https://www.zeffy.com/fundraising/eed8ea5e-3ecc-43c0-a71c-ffcf5d5bb7fa

“सन् २०१५ को महाभूकम्प वा कोभिड तथा गत वर्ष मात्रै जाजरकोट क्षेत्रमा गएको भूकम्पबाट प्रभावित समुदायलाई सक्दो सहयोग गर्न हाम्रा स्वयसेवकहरु अग्रपंक्तिमा खटिएका थिए। त्यो सबै तपाईंहरुकै महत्वपूर्ण सहयोगबाट सम्भव भएको हो। यस पटक पनि बाढी तथा पहिरो पीडितहरुलाई अत्यावश्यक मानवीय सेवा पुराउन सबै मित्रहरुबाट सक्दो सहयोग प्राप्त हुने हामीले विश्वास लिएका छौं,” हेल्प नेपाल नेटवर्क नेपाल शाखाका अध्यक्ष अरुण सिंह बस्नेतले भने। उनले सहयोग संकलन तथा वितरण सम्पूर्ण रुपमा पारदर्शी हुने पनि जनाए।

गत सेप्टेम्बर महिनाको अन्तिम साता नेपालमा भएको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी २४६ जना भन्दा बढीको ज्यान गएको छ भने अरु कैयौं बेपत्ता भएका छन्। त्यस्तै पूर्वाधार तथा बालीनालीमा अरबौं रुपैयाँ बराबरको क्षति भएको छ।

आफूले विश्वास गरेको संस्थामार्फत बाढी र पहिरो पीडितहरुलाई मानवीय सहयोग गर्न हेल्प नेपाल नेटवर्कले अपिल पनि गरेको छ।