काठमाडौँ । ९ वर्षअघि प्रदर्शनमा आएको सफल फिल्म ‘रेशम फिलिली’ को दोस्रो श्रृंखलाको छायांकन सुरु भएको छ ।
दशैंको अवसर पारेर सोमबार बुढानिलकण्ठ मन्दिरमा मुहूर्त गरेपछि काठमाडौंबाट ‘फेरि रेशम फिलिली’ को दृश्य खिच्न सुरु गरिएको हो । नवमीको दिन फिल्मको ‘एनिमेडेट’ टिजर सार्वजनिक गरिएको थियो ।
निरोज महर्जनले निर्देशनको जिम्मेवारी सम्हालेको फिल्ममा विनय श्रेष्ठ, कामेश्वर चौरसिया, सुपुष्पा भट्ट, नीर शाह, रवीन्द्र झा, प्रकाश घिमिरे, लक्ष्मी गिरी, महेश त्रिपाठी, एलनराज उप्रेती लगायतको अभिनय रहनेछ । विनय र कामेश्वर ‘रेशम फिलिली’मा पनि शीर्ष भूमिकामा थिए । अभिनेत्री मेनुका प्रधान भने दोस्रो भागमा दोहोरिएकी छैनन् ।
रौनक विक्रम कँडेल निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा सुरज बम ठकुरी छन् । सह-निर्माता एनी थापा हुन् । सुशन प्रजापतिको छायांकन रहने फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन् । पटकथा लेखनमा निर्देशक महर्जनलाई आकाश बरालको सघाएका छन् । गीतमा भने कालीप्रसाद बास्कोटा, एसडी योगी, हर्क साउद, कल्याण सिंह, जयन वाइवा र दीपक शर्माले संगीत भरेका छन् ।
प्रतिक्रिया