आँबुखैरेनीका महिला सयपत्री उत्पादनमा

आँबुखैरेनीका महिला सयपत्री उत्पादनमा



दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका‍-१ का महिला सयपत्री फूल उत्पादनमा जोडिएका छन् । यान्चोक लघुउद्यम महिला सङ्घमा आबद्ध यहाँका महिलाहरू फूल उत्पादनमा जोडिएका हुन् ।

पछिल्लो समय यहाँ उत्पादित फूलमार्फत महिलाहरूलाई आत्मनिर्भर बन्न सघाउ पुगेको बताइएको छ । गत वर्षदेखि उहाँका महिलाहरूले संगठित रूपमा सयपत्री उत्पादन गर्न थालिएको र त्यसको बजारीकरणका लागि देश तथा विदेशमा निर्यातको पहल भइरहेको गाउँपालिका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए ।

उनले भने, ‘सयपत्री फूलको बजारीकरणमा हामीले सघाउँदै आएका छौँ । कतारलगायत अन्य देशमा पनि पठाउन सकिन्छ कि भनेर समन्वय गरिरहेका छौँ।’

यहाँका महिलाले गत वर्ष २२ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरेकामा राम्रो प्रतिक्रिया पाएपछि यसपटक दोब्बर क्षेत्रफलमा विस्तार गरेका छन् । यहाँ विभिन्न समयमा उत्पादन दिनेगरी खेती गरिएको र यसपटक दसैँको शुभारम्भदेखि नै उत्पादन दिन थालेको छ ।

तिहार, एकादशी मेला र मङ्सिरमा हुने विवाहलाई मध्यनजर गरी फूल उत्पादनमा जोड दिइएको कृषि शाखा प्रमुख केसीले बताए । यहाँ गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा फूलखेती गरिएको र यसले महिलाहरूलाई आत्मनिर्भर बनाउन सहयोग पुगेको उनको भनाइ छ ।

लघुउद्यम महिला सङ्घका अध्यक्ष सुन्तली गुरुङले घरायसी काममा मात्रै सीमित महिलाहरू यतिबेला आत्मनिर्भर बन्ने प्रयासमा रहेको बताए । उनका अनुसार सङ्घमा आबद्ध ७० महिलाले सयपत्रीको खेती गरिरहेका छन् ।

अध्यक्ष गुरुङले भने, ‘चाडपर्वलगायत अन्य कार्यक्रमका लागि सयपत्री बाहिरबाट ल्याउन नपरोस् भनेर पालिकाले थालेको अभियानमा हामीले साथ दिएका हौँ । घरायसी काममा मात्रै व्यस्त रहने हामीलाई स्वरोजगार बनाउने उद्देश्यसहित फूलखेती गरिएकामा हाल राम्रै भइरहेको छ ।’

गाउँपालिकाले आयातित तथा प्लाष्टिकजन्य फूलमाला निरुत्साहित गर्ने प्रयासस्वरूप गत वर्षदेखि फूलखेतीलाई प्राथमिकता दिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । स्थानीय पुष्प व्यवसायीलाई प्रोत्साहित गर्ने उद्देश्यले गाउँपालिकाले अनुदानको कार्यक्रम अगाडि बढाएको उनले जानकारी दिए ।

‘धेरै मात्रामा प्लाष्टिकजन्य फूल तथा माला प्रयोग भएको छ । यसले मानवीय स्वास्थ्य र वातावरणलाई समेत असर पुर्‍याइरहेको छ । त्यसैले स्थानीयस्तरमै फूल उत्पादन गरी बाहिरबाट ल्याउन नपर्ने अवस्था सिर्जना गर्ने हाम्रो उद्देश्य हो’, अध्यक्ष चुमानले भने, ‘यसले स्थानीय उत्पादन प्रवर्द्धन र महिलालाई आत्मनिर्भर बनाउन पनि योगदान गरिहरहेको छ । त्यस कारणले यस खेतीलाई थप व्यवस्थित बनाउने गरी पालिका लागिरहेको छ ।’

गाउँपालिकाले स्थानीयस्तरमा हुने कार्यक्रममा पनि सयपत्री फूलको माला प्रयोगमा जोड दिएको छ । अध्यक्ष चुमानले भने, ‘पालिकाभित्र हुने हरेक कार्यक्रममा कृत्रिम फूललाई विस्थापित गरिरहेका छौँ, आफ्नै क्षेत्रमा उत्पादित फूललाई प्रयोगमा ल्याउन हामीले जोड दिएका छौँ। यसमा सबैको सहयोग जरूरी छ ।’