साफ च्याम्पियशिप : भुटानले श्रीलंकालाई ४–१ गोलले हरायो

साफ च्याम्पियशिप : भुटानले श्रीलंकालाई ४–१ गोलले हरायो



काठमाडौं । साफ महिला च्याम्पियशिप फुटबलमा भुटानले श्रीलंकालाई हराएको छ । समूह ‘बी’ को आजको पहिलो खेलमा भुटानले श्रीलंकालाई ४–१ गोलले हराएको हो ।

भुटानका लागि डेकी लाजोमले दुई, नामगेल डेमा र डोर्जी एडोनले समान एक गोल गरे । श्रीलंकाकी थुशानी मधुशीखाले एक गोल फर्काइन् । आजको जीतसँगै चार अंकका साथ भुटान अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । श्रीलंका तीन अंकसहित दोश्रो स्थानमा छ ।

आजै आयोजक नेपालले माल्दिभ्ससँग खेल्दैछ । समूह ’बी’ को यो खेल बेलुकी साढे ५ बजे त्रिपुरेश्वरको दशरथ रङ्गशालामा शुरू हुनेछ । नेपाल पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो । साफ च्याम्पियनशिपकै इतिहासमा नेपालको यो पहिलो बराबरी हो ।

यसअघि साफको छ संस्करणमा समूह चरणको सबै खेलमा नेपालले कम्तीमा १ गोल गरेको थियो । यस्तै माल्दिभ्स पहिलो खेलमा श्रीलंकासँग १–० गोलले पराजित भएको थियो । नेपाल एक अंकसहित तेश्रो स्थानमा छ भने माल्दिभ्स अंकविहीन हुँदै पुछारमा छ ।