माल्दिभ्सलाई १३ गोलले हराउँदै भुटान सेमिफाइनलमा

माल्दिभ्सलाई १३ गोलले हराउँदै भुटान सेमिफाइनलमा



काठमाडौं । माल्दिभ्सलाई हराउँदै भुटान साफ महिला च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा पुगेको छ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको समूह ‘बी’ को खेलमा भुटानले माल्दिभ्सलाई १३–० गोलले हरायो । भुटानकी देकी ल्हजोमले ५ गोल गरिन् । यस्तै पेमा छोदेन शेरिङ र शेरिङ याङ्देनले समान २ तथा नम्गेल देमा, सोनम छोदेन, शेरिङ ल्हादेन र देकी याङ्देनले समान १ गोल गरे । यो जीतसँगै भुटान ३ खेलमा ७ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । माल्दिभ्स ३ वटै खेल हार्दै पुछारमा छ ।

साफ महिला च्याम्पियनशिपमा आजै यही समूहका नेपाल र श्रीलङ्का खेल्दैछन् । यो खेल अहिले बेलुकी साढे ५ बजे त्रिपुरेश्वरमा शुरू हुँदैछ । नेपाल २ खेलमा ४ अङ्कसहित तालिकाको दोस्रो र श्रीलङ्का २ खेलमा ३ अङ्कसहित तेस्रो स्थानमा छन् । दुवै टोलीको सेमिफाइनलमा पुग्ने सम्भावना छ । यो खेलसँगै सेमिफाइनल समीकरण पूरा हुनेछ ।

यसअघि समूह ‘ए’ बाट बङ्गलादेश शीर्ष स्थानमा र भारत दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगिसकेका छन् ।