अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण नरोकिने

अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण नरोकिने



चितवन । वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका क्रममा बजेट निकासा नरोकिने जानकारी दिएका छन् । रंगशालाको अनुगमनपछि सञ्चारकर्मीसँग उनले निर्माण सम्पन्न गर्न बजेट अभाव नहुने स्पष्ट पारे ।

उनले भने, “प्रदेश सरकारको ७० प्रतिशत र भरतपुर महानगरपालिकाको ३० प्रतिशत लगानीमा निर्माण सुरु गरिएको रंगशाला निर्माण सुरु गरिएको रहेछ । बहुवर्षीय योजनालाई उच्च प्रथामिकतामा राखेर आवश्यक बजेट विनियोजन गरिनेछ ।”

पहिलेको तुलनामा काम प्रभावकारी रुपमा भएको उनको भनाइ थियो । नेपालका योजना अधुरो रहने गरेको भन्ने कुरालाई यो योजनाले चिर्ने उनले बताए ।

अनुगमनका क्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले तीन तहका सरकारको लगानीमा निर्माण थालिएको रंगशाला निर्माणका क्रममा बजेटको सुनिश्चितता प्रदेश सरकारले गरेको बताइन् । यो नमूना परियोजनाको रुपमा काम भइरहेको उनको भनाइ छ ।

कामको वातावरण निर्माण गर्न महानगरपालिकाले केही कसुर बाँकी नराख्ने उनको भनाइ थियो ।

गत असार २३ गते रंगशाला निर्माणका लागि सम्झौता भई निर्माणको प्रक्रिया अघि बढेको हो । महानगरपालिकाका डिभिजन इञ्जिनीयर सन्तोष आचार्यका अनुसार रंगशाला निर्माणका लागि महानगरपालिका र हिमालयन कालिञ्चोक वीवीआर जेभिबीच दुईपक्षीय सम्झौता भएको हो । ७८ करोड ५० लाख ९१ हजार १८९ मा निर्माण सम्पन्न गर्ने गरी दुईपक्षीय सम्झौता गरिएको हो ।

३० महिनामा निर्माणको काम सम्पन्न गर्नेगरी सम्झौता भएको हो । सम्झौतापछि हाल दुईवटा टावर निर्माणको क्रम जारी रहेको उनले बताइन् ।

एउटा टावरमा ग्राउण्ड निर्माणको काम भइरहेको छ भने अर्को टावरमा फाउण्डेसन निर्माणको काम भइरहेको छ । तिहारअघि ढलान सक्नेगरी काम भएको उनको भनाइ छ ।