खेतबारीमा रमाउँदै जुम्लाका दीपक, वार्षिक पाँच लाख आम्दानी

खेतबारीमा रमाउँदै जुम्लाका दीपक, वार्षिक पाँच लाख आम्दानी



जुम्ला । खेतबारीलाई प्रमुख कार्यस्थल बनाएका जुम्लाको तिला गाउँपालिका– ८ का २२ वर्षीय दीपक रावतले गाउँमा अग्रणी किसानको परिचय मात्र बनाएका छैनन् लोभलाग्दो आम्दानी पनि गर्दै आएका छन् । जिल्लामा उनी उदाहरणीय उद्यमीका रूपमा चिनिन्छन् ।

उद्यमी रावतले व्यावसायिक ढङ्गले फलफूल नर्सरी मात्र सञ्चालन गरेका छैनन् स्याउ, ओखर र बारीमा मौसमी सागसब्जी पनि फलाएका छन् । उनको फार्ममा ओखर र स्याउका बिरुवासँगै अलिक पर बोटमा लटरम्म ओखर र स्याउ फल्छन् । यस वर्ष उनले स्याउ बेचेर ४० हजार कमाएको बताए । विरुवा बेचेर अधिक लाभ हुने बताउँदै उनले स्याउका बिरुवा बेचेर बर्सेनि तीन लाखभन्दा बढी आम्दानी गर्दै आएको जानकारी दिए ।

कृषिकर्ममा केन्द्रित उनले हाल दुई सयवटा ओखरका बिरुवा हुर्काएका छन् ।

‘कर्णाली प्रदेश सरकारको बेरोजगार कृषि प्राविधिक छनोट अनुदान कार्यक्रमबाट छनोट भई कृषि विकास कार्यालयको ५० प्रतिशत अनुदानमा तीन लाख लगानीमा तीन हेक्टर जग्गामा स्याउ, ओखरको नर्सरीसँगै सागसब्जी र फलफूलखेतीबाट वार्षिक तीनदेखि पाँच लाखसम्मको आम्दानी हुने गरेको छ,’ भविष्यमा स्याउ ओखर तथा फुलफूलखेती विस्तार गर्ने लक्ष्यका साथ खेती विस्तारमा जुटेको जानकारी दिँदै उनले भने । वार्षिक १० लाख कमाउने लक्ष्यका साथ बोटबिरुवा बाढाएको उनले बताए ।

अठार महिना कनिष्ठ प्राविधिक सहायक (जेटीए) का रूपमा काम गरेका तथा वनस्पति र बाली विज्ञान (आईएसएजी) पनि अध्ययन गरेका उनलाई कृषि क्षेत्रमा काम गर्न असहज छैन । स्वदेशमा व्यावसायिक रूपमा काम गर्नसके अर्काको देशमा गएर पसिना बगाउनु नपर्ने उद्यमी रावतको बुझाइ छ ।

आफ्नो कृषि फार्मका उत्पादन स्थानीय बजार रारासेरी, नाग्म कुडारी र खलङ्गा बजारसम्म पुग्ने गरेको छन् । स्याउ र ओखरका बिरुवा मुगु र कालीकोटबाट पनि किन्न आउने किसानको सङ्ख्या बढेको उनी बताउँछन् । मागनुसार आपूर्ति गर्न नसकेको बताउँदै उनले राज्यबाट प्राप्त अनुदानले साना किसानलाई उद्यमशील बन्न प्रेरित गरेको अनुभव सुनाए ।