दिल्ली उड्ने तयारीमा रहेको जहाजमा बम राखेको हल्लापछि चेकजाँच जारी

दिल्ली उड्ने तयारीमा रहेको जहाजमा बम राखेको हल्लापछि चेकजाँच जारी



काठमाडौं । दिल्ली फर्किने तरखरमा रहेको भारतीय वायुसेवा एयर इण्डियाको जहाजमा अज्ञात समूहले बम राखेको सूचना सार्वजनिक भएपछि जहाजमा बसिरहेका यात्रुहरूलाई ‌ओरालेर जाँच गर्न थालिएको छ ।

एआई २१६ उडान नम्बरको यो विमानबाट दिल्ली जाने ५५ नेपालीसहित १ सय ५८ यात्रु रहेका छन् । बमको सूचनापछि सुरक्षाकर्मीले सबै यात्रुलाई बेग्लै राखेर जाँच गरेका हुन् । बमको हल्लाका कारण उक्त जहाज नजिकै रहेको हिमालय एयरलाइन्सको विमानलाई हटाइएको विमानस्थल स्रोतले बताएको छ ।

सोमबार दिउँसो साढे २ बजे काठमाडौंमा अवतरण भएको जहाजमा बम रहेको हल्लापछि नेपाल प्रहरी, नेपाली सेनाले सुरक्षा जाँचका लागि जहाजलाई नियन्त्रणमा लिएको थिए ।

६ दिनअघि पनि दिल्लीबाट काठमाडौं आएको भारतीय वायुसेवा कम्पनी भिस्तारा एयरवेजको जहाजमा बम राखिएको भन्दै हल्ला फैलिएको थियो । तर, जाँच गर्दा त्यस्तो कुनै शंकास्पद वस्तु भेटिएन ।

पछिल्लो समय भारतीय वायुसेवा कम्पनीहरुका विमानमा बम रहेको भन्दै पटकपटक गलत सूचना प्रवाह भइरहेको छ । यसले भारतको विमान सेवामै तनाव सिर्जना गराएको छ ।