बागलुङ । पछिल्ला वर्ष देउसी–भैलोको मौलिकता हराउँदै गएको गुनासो बढ्दो छ । सोरठी, मारुनीसहित पुराना नाच नाचेर खेलिने देउसी–भैलो पछिल्लो समय हराउँदै गएको हो । मौलिक संस्कृतिसहितको देउसी–भैलो हराउँदै गएपछि बुढापाका चिन्तित बनेका छन् । गाउँ, टोल र छिमेक गुञ्जायमान छन् तर यसको मौलिकता भने वर्षेनि हराउँदै गएको पाको पुस्ताको गुनासो छ ।
तिहार पर्वसँग मादल, बासुरी, खैजडीलगायत बाजा र मौलिक गीत जोडिएका हुन्छन् । तर हिजो आज र्याप, पपमा युवायुवतीले देउसी–भैलो खेल्दा बुढापाकाले खिन्नतता व्यक्त गर्छन् । बाग्लुङको निसीखोला गाउँपालिका–४ का ७४ वर्षीय धनबहादुर घर्तीले परम्परागत देउसी–भैलोलाई आधुनिकताले प्रभावित गरेको बताए । उनले भने ‘जुग जमानासँगै हाम्रा कला, संस्कृति हराउँदै गए, नयाँ पुस्ताले मौलिक संस्कृतिलाई बिर्सिए ।’
गलकोट नगरपालिका–१० का पूर्णबहादुर घर्ती मगरले अरूको देखासिकीका कारण हाम्रो मौलिकता हराएको गुनासो गरे । काठेखोला गाउँपालिका–१ का २७ वर्षीया कमल थापा मगर बाउबाजेले मौलिकतालाई संरक्षण गरे पनि आफ्नो पुस्ताले जोगाउन नसकेको स्वीकार गर्छन ।
प्रतिक्रिया