स्यांजा । स्यांजाको चापाकोट नगरपालिका–१ बेलडाँडाका किसान तुल्सीराम भण्डारीले दशैँ र तिहार अवधिमा सयपत्री फूल तथा माला बिक्रीबाट झन्डै पाँच लाख रुपैयाँ आम्दानी गरेका छन् ।
उनले दशैँ र तिहार अवधिमा माला एक हजार आठ सय ४५ गोटा र फूल एक हजार तीन सय ७६ केजी बिक्री गरेका हुन् । फूल बिक्रीबाट तीन लाख ४४ हजार र माला बिक्रीबाट एक लाख ४७ हजार ६ सय गरी चार लाख ९१ हजार ६ सय रुपैयाँ आम्दानी गरेको किसान भण्डारीले बताए ।
यहाँ उत्पादन भएको फूल तथा माला भैरहवा, नारायणगढ, बर्दघाटलगायतका बजार तथा स्थानीयस्तरमा पनि खपत भएको उनले जानकारी दिए । माग भएअनुसार माला तथा फूल उपलब्ध गराउन नसकेको किसान भण्डारीले उल्लेख गरे ।
बोटमा फूल फूल्ने क्रम जारी रहेको र मङ्सिर महिनाभरि उत्पादन लिन सकिने उहाँको भनाइ छ । बाँदरले अन्नबाली नष्ट गरिदिएपछि भण्डारीले विकल्पको रूपमा फूलखेती थालेका हुन् ।
प्रतिक्रिया