राउटेकाे जनसंख्या १ सय ३५ जनामा झर्‍याे

राउटेकाे जनसंख्या १ सय ३५ जनामा झर्‍याे



सुर्खेत । राउटे समुदायको जनसंख्या एक सय ३५ जनामा झरेको छ । २०७५ सालमा एक सय ४९ जना रहेको राउटेको जनसंख्या घटेर अहिले एक सय ३५ जनामा झरेको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ ।

आफ्नो बाजेको पालामा झन्डै सात सय रहेको राउटेको संख्या अहिले एक सय ३५ जनामा झरेको राउटे मुखिया सूर्यनारायण शाहीले बताए । पछिल्ला वर्षहरूमा सरकारले राउटेका लागि भत्तासँगै विभिन्न सुविधाहरू दिए पनि संख्या बढ्नुको साटो झनै घटिरहेको छ ।

अहिले बालबालिका जन्मिने क्रम निकै कम भएको शाहीले बताए । पछिल्लो साढे दुई वर्षको अवधिमा राउटे समुदायमा दुई जना बालबालिका जन्मिएका छन् । जनसङ्ख्यामा कमी आएसँगै कर्णालीका विभिन्न जिल्लामा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायको अस्तित्व नै सङ्कटमा पर्न थालेको छ ।

राउटे समुदायको उत्थानका लागि काम गर्दै आएको गैरसरकारी संस्था सोसेक नेपालका कार्यकारी प्रमुख हीरासिंह थापा सामाजिक मूल्य मान्यताका कारण पनि राउटेको संख्या घटिरहेको बताउछन् । उनका अनुसार राउटेभित्र तीन वटा समुदाय छन् । एउटै समुदायका केटा र केटीको विवाह गर्नु हुन्न । यसैले धेरै युवायुवतीको विवाह नै हुन सकेको छैन ।

यस्तै श्रीमानकाे मृत्युपछि जतिसुकै उमेरको भए पनि महिलाले विवाह गर्न पाउँदैनन् । अहिले २३ जना एकल महिला छन् । तीमध्ये धेरैजसो २० देखि ३० वर्ष उमेरका रहेका थापाले बताए ।

पछिल्लो समय जाँड–रक्सी खाएपछि लडेर ज्यान गुमाउने क्रम पनि बढेको छ । सरकारले दिएको भत्ता धेरैजसो जाँड–रक्सीमा खर्च भएको पाइएको थापाले बताए ।