एनपीएलमा ‘फिक्सिङ’ रोक्न हरेक फ्रेन्चाइज टाेली सेक्युरिटी अफिसरको निगरानीमा

एनपीएलमा ‘फिक्सिङ’ रोक्न हरेक फ्रेन्चाइज टाेली सेक्युरिटी अफिसरको निगरानीमा



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सहभागी हुने फ्रेन्चाइज टोलीलाई निगरानी गर्न २४ घण्टै सेक्युरिटी अफिसर खटाउने भएको छ ।

आज काठमाडौंमा भएकाे कार्यक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै क्यानका सचिव पारस खड्काले आठ वटै फ्रेन्चाइजसँग एक/एक जना सेक्युरिटी लायजन अफिसर खटाउने जानकारी दिए । यसका लागि नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सँग कुराकानी भइरहेको उनको भनाइ छ ।

गएको वर्ष आयोजना भएको नेपाल टी–२० ‘फिक्सि’ ङ विवादमा परेको थियो ।

त्यस्तै सचिव खड्काले एनपीएलको दोस्रो संस्करण फ्लडलाइटमा गर्ने इच्छा रहेको बताएका छन् । उनले एनपीएलको पहिलो संस्करण अन्तराष्ट्रियस्तरको गरेर सबैको ध्यान तान्न चाहेको बताए ।

यसले सरकारको पनि ध्यानाकर्षण हुने र लगानी बढ्नसक्ने भन्दै खड्काले भने, ‘हाम्रो इच्छा भनेको दोस्रो सस्करण फ्लडलाइटमा गर्ने हो । फ्लडलाइटमा नेपाल क्रिकेट संघ वा नेपाल सरकारले लगानी गर्छ भन्ने आगामी संस्करणसम्म अनुमान होला !’

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आठ वटा टोली सहभागी हुने एनपीएलको पहिलो संस्करण आउँदो मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म हुँदैछ ।