काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत बापतको कब्यौता तिर्न उद्योगीलाई १५ दिनको समयसीमा तोकेको छ ।
प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै सरकारले दिएको १५ दिनभित्र बक्यौता तिर्न आउन भनेको हो । यदि उक्त समयभित्र पनि बक्यौता नबुझाए फेरि लाइन काट्न बाध्य हुने चेतावनी प्राधिकरणले दिएको छ ।
सूचनामा भनिएको छ’–‘२०७२ माघदेखि २०७५ वैशाखसम्म टिओडी मिटरमा रेकर्ड भएको डिमान्ड तथा टी–वान, टि–टु र टि–थ्री टाइम इन्टरभलमा रेकर्ड भएको खपत इनर्जीको आधारमा गणना गरिएको छुट बिल प्राप्त गर्नु भएकै होला । अतः उक्त बिलअनुसारको बक्यौता महशुल १५ दिन अर्थात २०८१ मंसिर १२ गतेभित्र सम्बन्धित वितरण केन्द्रमा बुझाउनुहुन अनुरोध गरिन्छ ।’
प्राधिकरणले ८ कात्तिकमा महसुल नतिर्ने तीन दर्जन हाराहारी उद्योगको लाइन काटेको थियो । सरकारले पटकपटक लाइन जोड्न दबाब दिए पनि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता नउठाई विद्युत नजोड्ने अडान लिए ।
यहीबीच गत २५ कात्तिकमा बसेको मन्त्रिपरिषद बैठकले १५ दिनभित्र विद्युत महसुल उठाउने गरी लाइन जोड्न प्राधिकरणलाई निर्देशन दिएको थियो । उक्त निर्देशनअनुसार प्राधिकरण सञ्चालक समिति बैठकले २७ कात्तिकमा गद्योगहरुमा लाइन जोड्ने निर्णय गरेको थियो ।
मंगलबार केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १५ दिनभित्र बक्यौता नतिर्ने उद्योगको फेरि लाइन काट्ने चेतावनी दिएका थिए ।
प्रतिक्रिया