बाकुमा राष्ट्रपति पौडेल र अजरबैजानका राष्ट्रपति अलियेफबीच भेटवार्ता

बाकुमा राष्ट्रपति पौडेल र अजरबैजानका राष्ट्रपति अलियेफबीच भेटवार्ता



बाकु । राष्ट्रपति रामचन्द्र पौडेल र अजरबैजानका राष्ट्रपति इलहाम अलियेफबीच भेटवार्ता भएको छ ।

अजरबैजानको बाकुमा अजरबैजानका समकक्षी अलियेफसँग बिहीबार भएको भेटवार्तामा राष्ट्रपति पौडेलले सबै विकसित मुलुकहरूलाई जलवायु परिवर्तनका असर सम्बोधन गर्न व्यक्त गरिएका आफ्ना प्रतिबद्धता पूरा गर्न आग्रह गरेका छन् ।

राष्ट्रपति पौडेलले नेपालले अत्यन्त न्यून कार्बन उत्सर्जन गरे पनि जलवायु परिवर्तनको ठूलो प्रभाव व्यहोरिरहेको बताए । ‘सरकारले हरेक वर्ष बजेटको ठूलो हिस्सा जलवायुबाट प्रभावित जनसंख्याका लागि खर्च गर्नु परिरहेको छ,’ राष्ट्रपति पौडेलले भने ।

सन् १९९१ मा स्वतन्त्र भएपछि अजरबैजानले हासिल गरेको वृहत विकास र आर्थिक रूपान्तरणको राष्ट्रपति पौडेलले प्रशंसा गरेका थिए । उनले राजनीतिक परिवर्तनपछि नेपाल हाल आर्थिक विकासको बाटोमा अघि बढीरहेका र सरकारको प्राथमिकता दिगो आर्थिक विकास भएको बताए ।

राष्ट्रपति पौडेलले अजरबैजानका उनका समकक्षी अलियेफको सक्षम नेतृत्वमा आयोजना भइरहेको कोप- २९ को पूर्ण सफलताका लागि बधाई दिँदै सम्मेलनले पारित गर्ने घोषणापत्रले नेपालजस्ता अत्यन्त न्यून कार्वन उत्सर्जन गर्ने तर जलवायु परिवर्वनको ठूलो असर व्यहोरिरहेका मुलुकहरूको हक र हित संरक्षण गर्ने विश्वास व्यक्त गरे ।

भेटवार्तामा अजरबैजानका राष्ट्रपति अलियेफले आफू अझै एक वर्ष कोपको अध्यक्ष रहने सन्दर्भमा जलवायु परिवर्तनसम्बन्धी मुद्धामा नजिक रहेर काम गर्ने बताएका थिए । उनले नेपालले प्रस्ताव गर्ने क्षेत्रमा लगानी गर्न सकारात्मक रहेको बताए ।