काठमाडौं । नेपालले आजदेखि बंगलादेशमा बिजुली निर्यात गर्दैछ । नेपाल, भारत र बंगलादेशका ऊर्जामन्त्री तथा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मध्याह्न १२ बजे भर्चुअल माध्यमबाट स्वीच थिचेर उक्त कार्यको उद्घाटन गर्ने कार्यक्रम छ ।
भारतीय प्रसारण लाइनमार्फत शुक्रबार दिउँसो नेपालको बिजुली बंगलादेश पुग्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । नेपाल–भारत अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४ सय केभी प्रसारण लाइन हुँदै विद्युत बंगलादेश निर्यात हुने छ । मुजफ्फरपुरबाट भारतको बहरामपुर–भेरमारा–बंगलादेश ४ सय केभी प्रसारण लाइनमार्फत विद्युत बंगलादेश पुग्नेछ । विद्युतको मिटर भारतको मुजफ्फरपुरमा रहेको छ ।
नेपालले हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म बंगलादेशलाई बिजुली बिक्री गर्ने सम्झौतामा छ । सोहि अनुसार नेपालले यस वर्ष शुक्रबार एक दिन मात्रै बंगलादेशलाई बिजुली बेच्दैछ । त्यसपछि बंगलादेशलाई बिजुली बेच्न अर्को वर्ष कुर्नु पर्नेछ । नेपालले हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म मात्रै बिजुली बेच्न पाउनेछ ।
बंगलादेशलाई बिजुली बेच्दा मुलुकलाई प्रतिमहिना करिब ३३ करोड रुपैयाँ आम्दानी हुनेछ । कुल ५ महिनामा १ लाख ४४ हजार मेगावाट बिजुली निर्यात हुने प्राधिकरणले जनाएको छ । प्रतियुनिट ६.४० अमेरिकी सेन्टका दरले ५ महिनामा ९२ लाख १६ हजार अमेरिकी डलर आम्दानी हुने प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया