धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त

धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त



काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेकाे छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई बोर्डको अध्यक्ष नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

यसअघि, आइतबार सिफारिस समितिले श्रेष्ठसहित डा. नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठको नाम सिफारिस गरेको थियो ।

सिफारिस समितिले आइतबार अध्यक्षका आकांक्षी अधिकारी, कृष्णबहादुर कार्की र चिरञ्जीवी चापागाईंलाई अन्तर्वार्ता र प्रस्तुतीकरणका लागि अर्थ मन्त्रालयमा बोलाइएको थियो । तर, चापागाईं सहभागी भएनन् ।

आइतबार अन्तर्वार्ता र प्रस्तुतीकरणमा सहभागीमध्ये नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत कार्कीको नाम भने सिफारिसमा परेन ।

सन्तोषनारायण र मुक्तिको गत असार २ गते नै अन्तर्वार्ता र प्रस्तुतीकरण भएको थियो ।

बोर्ड करिब १ वर्षदेखि अध्यक्षविहीन थियो । तत्कालीन अध्यक्ष रमेश हमालको दुई वर्षे कार्यकाल २०८० पुस २० गते सकिएको थियो । धितोपत्र सम्बन्धी ऐन, २०६३ मा नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त भएमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले बोर्डको अध्यक्ष हैसियतमा काम गर्ने व्यवस्था छ ।