सिमेन्टको मूल्यवृद्धि फिर्ता नभए महासंघले ‘कन्स्ट्रक्सन होलिडे’ आह्वान गर्ने

सिमेन्टको मूल्यवृद्धि फिर्ता नभए महासंघले ‘कन्स्ट्रक्सन होलिडे’ आह्वान गर्ने


ग्लोब नेपाल
2.2k
Shares

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सिमेन्टलगायतका निर्माण सामाग्री उत्पादनसँग सम्बन्धित इन्धनसहित कुनै पनि कच्चा पदार्थको मूल्यवृद्धि खारेज नभए कन्स्ट्रक्सन होलिडे आह्वान गर्ने भएको छ । विगत एक महिनाको अवधिमा सिमेन्टमा प्रति बोरा १ सयभन्दा बढी मूल्यवृद्धि भएको महासंघले बुधबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

कार्टेलिङ गरेर सिमेन्टको मूल्य ७ सय ५० रुपैयाँसम्म प्रति बोरा पुर्‍याउने योजना

निर्माण कार्य हुने अहिलकै सिजनमा सीमित सिमेन्ट उद्योगीहरुले मूल्यवृद्धिसँगै कार्टेलिङ गरी उत्पादनमा समेत कटौती गरिएको छ । उद्योगहरुले कार्टेलिङ गरेर सिमेन्टको मूल्य ७ सय ५० रुपैयाँसम्म प्रति बोरा पुर्‍याउने योजना बनाएपछि महासंघ विरोधमा उत्रिएको हो ।

भुक्तानी अभाव लगायतका कारण सकसमा रहेको निर्माण उद्योग थप मारमा परेको महासंघले ठहर गरेको छ । ‘खुल्ला अर्थन्त्रको नीति विपरित सिमेन्टमा गरिएको यस किसिमको अव्यवहारिक एवम अवैज्ञानिक मूल्यवृद्धि दण्डनीय अपराध भएको महासंघका महासचिव रोशन दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

निर्माण व्यवसायीहरुको अरबौं भुक्तानी नहुँदा निर्माण उद्योग नै धराशायी भएको स्थितिमा सिमेन्टलगायतका निर्माण सामाग्रीमा भएको मूल्यवृद्धि अविलम्ब खारेज गरी आम उपभोक्तालाई राहन दिन महासंघले सरकार र सम्बन्धित निकाय समक्ष माग गरेको विज्ञप्तिमा भनिएको छ ।

मूल्यवृद्धि खारेज नभए महासंघ बाध्य भएर देशभरका निर्माण कार्य ठप्प पारी कन्स्ट्रक्सन होलिडे आह्वान गर्ने विज्ञप्तिमार्फत् अवगत गराइएको छ ।