काठमाडौं । सुदूरपश्चिम रोयल्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न न्युजिल्यान्डका स्कट कुगेलेइन र इंग्ल्यान्डका सेफ अली जेब नेपाल आइपुगेका छन् ।
न्युजिल्यान्डका कुगेलेइन र इंग्ल्यान्डका जेबलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टिमका व्यवस्थापक रवि तिमल्सिनाले स्वागत गरेका थिए । न्युजिल्यान्डका लागि टेस्ट, ओडीआई र टी- २० आई तीनै फर्म्याटमा खेलेका स्कटले पछिल्लोपटक यसै वर्ष मार्चमा अस्ट्रेलियाविरुद्ध टेस्ट खेलेका थिए । उनको आगमनले टोलीको बलिङ थप मजबुत हुने विश्वास टिमले लिएको छ ।
तीव्र गतिको बलिङ गर्ने स्कटसँग तल्लो क्रममा ठूला सट खेल्ने क्षमता छ । स्कटसँग विश्वका क्रिकेटको शीर्ष फ्रेन्चाइज लिग खेलेको अनुभव छ । उनले सन् २०११ देखि प्रथम श्रेणी क्रिकेट खेल्दै आएका छन् । स्कटले टी- २० क्रिकेटमा १ सय ६८ विकेट लिनुका साथै ब्याटिङतर्फ १ हजार २२ रन बनाएका छन् । यसबाहेक प्रथम श्रेणी क्रिकेटमा उनले २७ को औसतमा रन जोड्दै ४ शतक र १८ अर्धशतक प्रहार गरेका छन् ।
२६ वर्षीय बायाँ हाते अलराउन्डर जेबसँग काउन्टी क्रिकेटको भरपुर अनुभव छ । गत महिना सम्पन्न इंग्ल्यान्डको टी- २० घरेलु प्रतियोगितामा नर्थान्ट्सबाट खेलेका सेफले काउन्टीको दोस्रो श्रेणीमा पनि नियमित खेल्दै आएका छन् । सन् २०१५ मा १६ वर्षको उमेरमा पहिलो श्रेणी क्रिकेटमा डेब्यु गरेपछि इंग्ल्यान्डका लागि उमेर समूह क्रिकेट पनि खेलेका छन् । टी- २० करिअरमा १ सय ४० भन्दा माथिको स्ट्राइक रेटमा १२ सय रन जोडेका उनले पार्टटाइम बलिङ गर्दै ३३ को औसतमा १२ विकेट लिएका छन् ।
प्रतिक्रिया