सर्वाधिक चर्चाकाबीच ‘नेपाल प्रिमियर लिग’ क्रिकेट आजदेखि

सर्वाधिक चर्चाकाबीच ‘नेपाल प्रिमियर लिग’ क्रिकेट आजदेखि



काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करण आजबाट सुरू हुँदैछ । त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा २० दिन चल्ने प्रतियोगिताको औपचारिक उदघाटन खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ ।

एनपीएलको पहिलो उदघाटन खेल विराटनगर र जनकपुरकाबीच हुनेछ । जनकपुरका तर्फबाट अनिल शाह कप्तानीमा रहनेछन भने विराटनगर किंग्सको नेतृत्व सन्दीप लामिछानेले गर्नेछन् ।

नेपाल क्रिकेट सङ्घ [क्यान]को आयोजनामा आजबाट पुस ६ गतेसम्म चल्ने प्रतियोगितामा ८ टोली प्रतिस्पर्धामा उत्रदैँछन् । जसअनुसार विराटनगर किंग्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुदैँछ ।

यस पटकको लिगमा १६ देशका कम्तीमा ४० खेलाडी एनपिएल खेल्न नेपाल आउँने भए पछि यसको चर्चा परिचर्चा अझै बढी हुन पुगेको छ । भारतका लागि तीनवटै फर्म्याटमा खेलिसकेका स्टार खेलाडी धवन, न्यूजिल्याण्डका मार्टिल गप्टिलजस्ता स्टार खेलाडी पहिलो पटक नेपालमा लिग खेल्न आउँदैछन् । त्यसमा जिम्मी निसम र बेन कटिङ जस्ता टी–२०का स्टार खेलाडीको सहभागिताले पनि एनपिएल निकै चर्चामा आएको हो ।

विश्वचर्चित खेलाडीसँगै एनपिएलमा लगानीकर्ता टोलीले पनि खेलाडीमा खर्च गर्न कुनै कन्जुस्याँई गरेको देखिँदैन । फ्रेन्चाइज टिम किन्नकै लागि करिब रु तीन करोड माथीसम्म खर्च गरेको छ । पोखरा एभेन्जर्सले करिब रु तीन करोड ५७ लाखमा फ्रेन्चाइज किनेको थियो । यस्तै कम खर्च गर्नेले पनि कम्तीमा रु एक करोडभन्दा माथि रकम फ्रेन्चाइज फि तिरेको छ ।

एनपिएलको अर्को आकर्षण भनेको खेलाडीले कार पाउनु पनि हो । नेपाली क्रिकेट इतिहामा खेलाडीले खेलेरै कार पाउने यो पहिलो पटक हुनेछ । क्यानका अनुसार प्रतियोगितामा उत्कृष्ट घोषित हुने एक खेलाडीले एक थान कार पुरस्कार प्राप्त गर्नेछन् ।

त्यस्तै क्यानले प्रतियोगिताको विजेता टोलीलाई ठूलै नगद पुरस्कार दिने भनिएता पनि हालसम्म के कति पुरस्कार दिने भन्ने विषयमा खुलाएको छैन ।