एनपीएल : चितवन राइनोजको विजयी सुरुवात

एनपीएल : चितवन राइनोजको विजयी सुरुवात



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको सोमबार खेलिएको पहिलो खेलमा चितवन राइनोज विजयी भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको खेलमा चितवन रनाइनोजले काठमाडौँ गुर्खाजलाई पाँच विकेटले हराएको हो ।

जारी प्रतियोगितामा चितवन राइनोज र काठमाडौँ गुर्खाज दुवैले आफ्नो पहिलो खेल खेलेका हुन् । टस हारी पहिले ब्याटिङको निम्तो पाएको काठमाडौँ गुर्खाजले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ११ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको चितवन राइनोजले भने १७.१ ओभरमै केवल पाँच विकेट गुमाएर एक सय १४ रन बनाउँदै विजयलक्ष्य पार गर्‍यो । चितवन राइनोजका सन्तोष कार्कीले २८, शरद भेषावकरले अविजित ११, लुक बेनकेन्स्टाइनले २२, ओपनर ब्याट्सम्यान हसन इशाखिलले १२, कप्तान कुशल मल्ले ११, ओपनर दीपक बोहराले सात र रवि बोपाराले ११ रन बनाए ।

चितवन राइनोजले अतिरिक्त रूपमा १२ रन पायो । काठमाडौँ गुर्खाजका बलर साहब आलमले तीन विकेट लिए । जेरहार्ड एरास्मस र डन डउथवेटले पनि एक–एक विकेट हात पारे ।

त्यसअघि काठमाडौँ गुर्खाजनका ब्याट्सम्यानहरूले गतिलो प्रदर्शन गर्न सकेका थिएनन् । ओपनर ब्याट्सम्यान माइकल लेभिटले २५ रनको योगदान गरे ।

तेस्रो नम्बरमा क्रिज समाल्न आएका सुमित महर्जनले पनि २९ रन बनाए । टोली अप्ठ्यारो स्थितिमा रहँदा सुमितले ४१ बलको सामना गरी एक चौका पनि हिर्काएका थिए । डन डउथवेटले पनि अविजित १९ रन जोडे ।

छैटौँ नम्बरमा क्रिज समाल्न आएका ब्याट्सम्यान शंकर रानाले १६ रन बटुले । काठमाडौँका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । काठमाडौँले अतिरिक्त रूपमा आठ रन पायो । दीपेश कँडेल एक रनमा अविजित रहे ।

चितवन राइनोजबाट खेलिरहेका पाकिस्तानका तीव्र गतिका बलर सोहेल तनवीरसामु काठमाडौँ गुर्खाजका ब्याट्सम्यानहरू निरीह देखिएका थिए । ३९ वर्षीय बायाँहाते बलर तनवीर एक्लैले पाँच विकेट लिएका थिए ।

सोहेल तनवीरले चार ओभरमा केवल २१ रन खर्चिए ।

चिनवन राइनोजका बलर रिजन ढकाल, कुशल मल्ल, अमरसिंह रौतेला र लुक बेनकेन्स्टाइनले एक–एक विकेट हात पारे ।

नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आयोजना गरेको एनपीएलमा सोमबारको दोस्रो खेल जनकपुर बोल्ट्स र कर्णाली याक्सबिच खेलिने छ ।