शेयर बजार १९.९७ अंकले बढ्यो, साढे १० अर्बको कारोबार

शेयर बजार १९.९७ अंकले बढ्यो, साढे १० अर्बको कारोबार



काठमाडाैं । हिजो घटेको शेयर बजार आज दोहोरो अंकले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव ९७ अंकले बढेर दुई हजार सात सय ५८ दशमलव शून्य चार विन्दुमा पुगेको छ ।

आज बैंक, विकास बैंक, फाइनान्स र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा होटल, बीमा, व्यापार समूहको शेयर उच्च अंकले उकालो लागेको छ ।

आज तारागाउँ रिजेन्सी होटल, विशाल बजार, खानीखोला हाइड्रोपावर र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन नेपाल फाइनान्स कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै आठ प्रतिशतले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो आठ अर्ब ८३ करोडको शेयर कारोबार भएकोमा आज तीन सय १४ वटा कम्पनीका दुई करोड ३० लाख कित्ता शेयर १० अर्ब ५४ करोड रुपैयाँमा किनबेच भएको छ ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्सको ५९ करोड रुपैयाँको शेयर खरिद/बिक्री भयो ।