नुवाकोटमा सडक निर्माणको जिम्मा पाएको निर्माण व्यावसायी सम्पर्कविहीन

नुवाकोटमा सडक निर्माणको जिम्मा पाएको निर्माण व्यावसायी सम्पर्कविहीन



नुवाकोट । सडक निर्माणको जिम्मेवारी लिएर निर्माण व्यवसायी सम्पर्कमा नआएपछि पूर्वाधार विकास कार्यालय नुवाकोटले खोजी थालेको छ ।

शिवपुरी गाउँपालिका–४ आइतरामपाटी–पुणीभञ्याङ हुँदै सिक्रे मैदान, तलाखु, छाप सडक स्तरोन्नतिको जिम्मा लिएको केबीएनएस–केबीके जेभीलाई कार्यक्षेत्रमा फर्किएर काम शुरू गर्न कार्यालयले खोजी थालेको हो ।

निर्माणको सम्झौता र सडक शिलान्यास गरेर अहिलेको काम गर्नुपर्ने मुख्य समयमा निर्माण व्यवसायी सम्पर्कमा नआएपछि कार्यतालिकाअनुसार काम अघि बढाउन पत्राचारमार्फत खोजी थालिएको कार्यालय प्रमुख सुजन थापाले जानकारी दिए ।

उनका अनुसार गएको जेठ १७ गते भएको सम्झौता र कात्तिक ६ गते भएको सडक शिलान्यासपछि पनि काम नभएपछि निर्माण व्यवसायीलाई कार्यक्षेत्रमा फर्केर कामलाई शीघ्र अघि बढाउन पत्राचार गरिएको छ ।