कर्णालीविरुद्ध काठमाडौंको रोमाञ्चक जित

कर्णालीविरुद्ध काठमाडौंको रोमाञ्चक जित



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गुर्खाजले पहिलो जित निकालेको छ । काठमाडौंले बुधबार भएको रोमाञ्चक खेलमा कर्णाली याक्सविरुद्ध तीन विकेटको जित निकालेको हो ।

बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा कर्णालीले दिएको १५० रनको लक्ष्य काठमाडौंले ३ बल अगावै ७ विकेट गुमाएर १५३ रन बनाउँदै पूरा गरेको हो ।

काठमाडौंका लागि सुमित महर्जनले अविजित ४० रन बनाए । उनले ३७ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे । करण केसीले १० बलमा २८ रन जोडे । उनले २ चौका र २ छक्का प्रहार गर्दा काठमाडौं राहत भएको थियो ।

गेराल्ड इरासमसले ३८ रनको योगदान गरे । उनले इरासमसले २८ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।

काठमाडौंका लागि ओपनिङ ब्याटर माइकल लेभिटले १९ बलमा २२ रन जोड्ने क्रममा २ चौका र १ छक्का प्रहार गरे । अर्का ओपनर शंकर राना भने ६ रनमा रनटआउट भए । स्टेफन इस्कानाजी ३ रन र भीम सार्की ९ रन जोडेर आउट भए ।

बलिङमा कर्णालीका सोमपाल, नन्दन यादव, गुल्सन झा, जीशन मक्सुद र विपिन शर्माले एक एक विकेट लिए ।

काठमाडौंले टस जितेर ब्याटिङको निम्तो दिएपछि पहिले ब्याटिङ गरेको कर्णालीले ओपनिङ ब्याटर शिखर धवनको अर्धशतकको मद्दतमा ५ विकेटको क्षतिमा १४९ रन जोड्यो ।

भारतीय ब्याटर धवनले नटआउट ७२ रन जोडे । अन्तिमसम्म ब्याटिङमा टिकेका उनले ५१ बल खेलेर ४ चौका र ५ छक्का प्रहार गरे । सुस्त सुरुवात गरेका धवनले १८औं ओभरमा अर्धशतक पूरा गरेका थिए । अघिल्लो खेलमा १४ रनमा आउट भएका धनवले बुधबार भने सुरुदेखि नै सम्हालिएर ब्याटिङ गरेका थिए ।

नटआउट रहेका जीशन मक्सुदले ११ बलमा १४ रन जोडे । मक्सुद र धनवबीच ६५ रनको साझेदारी हुँदा कर्णालीको स्कोर बढेको थियो ।

टस जितेको काठमाडौंले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कर्णालीका ओपनर देव खनाल डक आउट भए ।

चाडविक वाल्डनले २१ रन जोड्दा १५ बलमा ५ चौका प्रहार गरे । बाबर हायतले १८ बलमा १३ रन मात्र जोड्न सके । १४औं ओभरमा आउट भएका गुल्सन झाले १९ बलमा १ चौका प्रहार गर्दा १२ रन मात्र जोडे । अर्को ओभरमा अर्जुन घर्ती ४ रनमा स्वटरबाट बोल्ड भए ।

बलिङमा काठमाडौंका इरासमसले २ विकेट लिए। उनले ४ ओभरमा २९ रन खर्चिए ।

काठमाडौं र कर्णाली दुवैले आफ्नो पहिलो खेल गुमाएका थिए । कर्णालीलाई जनकपुर र काठमाडौंलाई चितवनले पराजित गरेका थिए ।