लुम्बिनी लायन्समाथि बिराटनगर किङ्ग्सको सनसनीपूर्ण जित

लुम्बिनी लायन्समाथि बिराटनगर किङ्ग्सको सनसनीपूर्ण जित



काठमाडौं । बिराटनगर किङ्ग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्समाथि सनसनीपूर्ण जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार भएको खेलमा बिराटनगरले लुम्बिनीलाई दुई विकेटले हरायो ।

तीन खेल खेलेको बिराटनगरको यो पहिलो जित हो । लुम्बिनीले हारबाट खेलको सुरुवात गरेको छ । बिराटनगर यसअघि पहिलो खेलमा जनकपुर बोट्ल्ससँग आठ विकेट र दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ९० रनले पराजित भएको थियो ।

जितका लागि एक सय ९२ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको बिराटनगरले १९.५ ओभरमा आठ विकेटको क्षतिमा एक सय ९३ रन जोड्दै लक्ष्य पूरा गरेको हो । बिराटनगरका लागि ओपनर लोकेश बमले सर्वाधिक ७१ रन बनाए । उनले ४७ बलमा तीन चौका र ६ छक्काको सहयोगमा अर्धसतकीय रन बनाए ।

यस्तै सिर अहमदले ४०, मार्टिन गुप्टिलले २८ र चेरिस सोलले अविजित १४ रन जोड्दै टोलीलाई जिताए । बलिङमा लुम्बिनीका दुर्गेस गुप्ताले तीन विकेट लिए । सद विन जफर र रामोन सिमोन्ड दुई दुई तथा विवेक यादवले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ९१ रन बनाएको थियो । यो जारी लिगको सर्वाधिक ठुलो योगफल हो ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ४६ रन बनाए । उनले २९ बलमा चार चौका र दुई छक्काको सहयोगमा उक्त रन बनाएका हुन् । यस्तै टम मोर्सले ३०, विवेक यादवले अविजित १९, ओपनर अर्जुन साउदले १७, आशुतोष घिरैया र साद बिन जफरले १५/१५ र सन्दीप जोराले १२ रन बनाए ।

बलिङमा विराटनगरका इस्मत अलाम, राजन पुलामी र कप्तान सन्दीप लामिछानेले एक एक विकेट लिए ।