नेपाल प्रिमियर लिगमा सुदूरपश्चिमको लगातार दोस्रो जित

नेपाल प्रिमियर लिगमा सुदूरपश्चिमको लगातार दोस्रो जित



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजविरुद्ध ७३ रनको जित निकालेको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले प्रस्तुत गरेको १६८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौंले १५.५ ओभरमा सबै विकेट गुमाएर ९४ रनमात्रै बनायाे ।

काठमाडौंका स्टेफन एस्किनाजीले सर्वाधिक ३७ रन बनाए । सुमित महर्जनले १० बलमा दुई चौकासहित १४ रन जोडे । भीम सार्की र गेरहार्ड इरास्मसले समान १० रन थपे । यसबाहेक, काठमाडौंका अन्य ब्याटर दोहोरो अंकको रनसम्म पुग्न सकेनन् ।

काठमाडौंलाई सस्तैमा समेट्न सुदूरपश्चिमका नरेन साउदले पाँच विकेट लिए । ३.५ ओभर बलिङ गरेका नरेनले १९ रनमात्र खर्चिए । अविनाश बोहराले दुई विकेट लिए । ब्रान्डन म्याकमुलम र सैफ जैबले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रनको योगफल खडा गरेको थियो ।

सुदूरपश्चिमका ब्रान्डन म्याकमुलमले ५३ रन बनाए । उनले ३६ बलमा तीन चौका र चार छक्का प्रहार गरे । म्याकमुलमलाई १२औँ ओभरको अन्तिम बलमा गेरहार्ड इरास्मसले साहब आलमबाट क्याच गराएका थिए ।

ओपनर विनोद भण्डारीले ३५ रन थपे । कप्तान दीपेन्द्रसिंह ऐरीले ४३ रन बनाए ।

ओपनर सैब जैबले ११ रन थपे । रोहन मुस्ताफाले चार रन जोडे । १७औँ ओभरको चौथो बलमा रनआउट हुनुअघि आरिफ सेखले तीन बलमा तीन रनमात्र बनाए ।

काठमाडौंका राशिद खानले विकेट लिए । करण केसी, साहब आलम र गेरहार्ड इरास्मसले समान एक विकेट लिए ।

प्रतियोगितामा सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो । सुदूरपश्चिमले यसअघि पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध ९० रनको जित निकालेको थियो ।