चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै कर्णाली याक्सको पहिलो जित

चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै कर्णाली याक्सको पहिलो जित



काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ ।

बलिङमा विपिन शर्माको ३ विकेट अनी ब्याटिङमा शिखर धवनको ४५ रन मदतमा कर्णालीले शुक्रबार चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको हो ।

कर्णाली यसअघि जनकपुर बोल्ट्स र काठमान्डु गुर्खाजसँग पराजित भएको थियो । पहिलो जितपछि कर्णालीले दुई खेलको हारको शृंखलाई ब्रेक गर्दै २ अंक जोडेको छ ।

यसअघि लगातार दुई खेल जितेर लयमा रहेको चितवनको यो पहिलो हार हो ।

धवनले ४५ रन बनाएपछि कर्णालीले १३१ रनको लक्ष्य ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । यस्तै चाडविक वाल्टनले ३० तथा देव खनालले २५ रन बनाए । जिसान मक्सुदले अविजित १२ रन बनाए ।

त्यसअघि टस जितेको कर्णालीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको चितवनले ७ विकेटको क्षतिमा १३० रन जोड्यो ।

चितवनका लागि रवी बोपाराले नटआउट ५९ रन जोड्ने क्रममा ४० बल खेलेर ७ चौका र १ छक्का प्रहार गरे ।

बोपारा र कप्तान कुशल मल्लले चौथो विकेटका लागि ६० रनको साझेदारी गरेका थिए। कुशलले २७ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २३ रन जोड्न सके ।

त्यसअघि चितवनले पावरप्लेमा आफ्नो तीन विकेट गुमाएको थियो । ओपनर लुक बेन्केस्टाइनलाई पहिलो ओभरको पाँचौ बलमा कर्णालीका कप्तान सोमपाल कामीले शून्यमा बोल्ड गरे ।

अर्का ओपनर दीपक बोहरा चौथो ओभरमा नन्दन यादवको बलमा देव खनालबाट ८ रनमै क्याच भए । पावरप्लेको अन्तिम ओभरमा विपिन रावल ११ रनमा जिशन मक्सुदबाट बोल्ड भए ।

१७औं ओभरमा विपिन शर्माको एलबिडब्लूको धरापमा पर्नुअघि लोफ्टी इटनले ९ रन जोडे । दुई बलपछि विपिनले सोहेल तन्विरलाई शून्यमा बोल्ड गरेका थिए। विपिनले अमरसिंह रटेउलालाई पनि १९औं ओभरमा ९ रनमा बोल्ड गरेका थिए। शरद भेषावकर ६ रनमा नटआउट रहे ।

बलिङमा कर्णालीका विपिन शर्माले तीन विकेट लिए । उनले चार ओभरमा २१ रन खर्चिए । जिशन मक्सुदले दुई विकेट लिन सफल भए। उनले चार ओभरमा २२ रन दिए। कप्तान सोमपाल कामी र नन्दन यादवले १-१ विकेट लिए ।