सेती जलविद्युत् आयोजनाले व्यापारिक उत्पादन थाल्यो

सेती जलविद्युत् आयोजनाले व्यापारिक उत्पादन थाल्यो



कास्की । कास्कीको सेती जलविद्युत् आयोजनाले व्यापारिक उत्पादन शुरू गरेको छ । आयोजनाको ‘पावर प्लान्ट’ र ‘इन्टरकनेक्सन’ परीक्षणपछि ‘कमिसनिङ’ को काम पूरा भएसँगै व्यापारिक उत्पादन शुरू भएको हो ।

२५ मेगावाट क्षमताको आयोजनाबाट उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा प्रवाह भइसकेको प्रवर्द्धक कम्पनीका कार्यकारी अध्यक्ष जगबहादुर पोखरेलले बताए ।

आयोजनाबाट उत्पादित बिजुली माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकमा रहेको प्राधिकरणको सबस्टेशनमा जोडिएको छ । आयोजनामा पाँच अर्ब रुपैयाँभन्दा बढी लगानी भएको छ ।

सार्दिखोलाको भराभरीमा रहेको सेती नदीमा बाँध निर्माण गरी ६ हजार चार सय मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर एक सय ८७ मिटर उचाइबाट चिन्तेबगरमा रहेको पावर हाउसमा त्यसलाई खसालेर बिजुली उत्पादन गरिएको हो । आयोजना जलप्रवाहमा आधारित छ ।