काठमाडौं । कप्तान रोहित पौडेलको विस्फोटक ब्याटिङ गरेपछि लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जितका लागि पोखरा एभेन्जर्सलाई एक सय ७१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ७० रन बनायो । लुम्बिनीका लागि कप्तान रोहितले अविजित ९५ रन बनाए । उनले ५९ बलमा १०चौका र चारछक्काको सहयोगमा उक्त रन बनाएका हुन् । टोम मूर्सले ४५ रन बनाए । उनले ३८ बलमा दुई चौका र दुई छक्का हाने । सन्दीप जोराले १८ रन जोडे ।
बलिङमा पोखराका विपिन खत्रीले दुई विकेट लिए । म्याट क्रिच्ट्लीले एक विकेट लिए । लुम्बिनी लिगमा दोस्रो र पोखरा तेस्रो खेल खेलिरहेको छ । यसअघि लुम्बिनी पहिलो खेलमा विराटनगर किङ्ग्ससँग पराजित भएको थियो । पोखराले यसअघि चितवन राइनोज र जनकपुर बोल्ट्ससँग हार खेपेको थियो ।
प्रतिक्रिया