एन्ड्रिसको ऐतिहासिक शतकमा पोखराको पहिलो जित

एन्ड्रिसको ऐतिहासिक शतकमा पोखराको पहिलो जित



काठमाडौं । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा अमेरिकी ब्याट्सम्यान एन्ड्रिस गौस र दीनेश खरेलले विस्फोटक ब्याटिङ गरेपछि पोखराले लुम्बिनी लायन्सलाई १० विकेटले हरायो । जितका लागि एक सय ७१ रनको चुनौती पूर्ण लक्ष्य पोखराले १६.५ ओभरमा विनाविकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । पोखराका लागि एन्ड्रिसले ऐतिहासिक सतक पूरा गरे ।

उनले ५५ बलमा १२ चौका र पाँच छक्काको सहयोगमा अविजित एक सय चार रन बनाए । यो जारी एनपीएलमा कुनैपनि खेलाडीले एउटै इनिङ्समा बनाएको सर्वाधिक रन हो । यस्तै ओपन दीनेशले अविजित ६१ रन बनाए । उनले ४६ बलमा चार चौका र चार नै छक्का हाने । एन्ड्रिस र दीनेशको यो सर्वाधिक एक सय ७६ को पाटनरसिप हो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ७० रन बनाएको थियो । लुम्बिनीले चुनौतीपूर्ण लक्ष्य खडागरेपछि बलिङ चल्न नसक्दा हार खेप्न बाध्य बन्यो ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले अविजित ९५ रन बनाए । उनले ५९ बलमा १०चौका र चारछक्काको सहयोगमा उक्त रन बनाएका हुन् । टोम मूर्सले ४५ रन बनाए । उनले ३८ बलमा दुई चौका र दुई छक्का हाने । सन्दीप जोराले १८ रन जोडे ।

बलिङमा पोखराका विपिन खत्रीले दुई विकेट लिए । म्याट क्रिच्ट्लीले एक विकेट लिए । दोस्रो खेल खेलेको लुम्बिनीको यो दोस्रो नै हार हो । यसअघि लुम्बिनी पहिलो खेलमा विराटनगर किङ्ग्ससँग पराजित भएको थियो । तीन खेलमा पहिलो जित निकालेको पोखराले यसअघि चितवन राइनोज र जनकपुर बोल्ट्ससँग हार खेपेको थियो ।