काठमाडौं । जनकपुर रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्समाथि १ रनको रोमाञ्चक जित हात पारेको छ ।
हर्श थाकरले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएपछि जनकपुरले रोमाञ्चक जित हात पारेको हो ।
जनकपुरले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १३५ रन मात्र बनाउन सक्यो ।
लिगमा जनकपुरको यो लगातार चौथो जित हो । ४ खेलबाट ८ अंक जोडेर जनकपुर शीर्ष स्थानमा उक्लेको छ । लुम्बिनीकाे भने यो लगातार चौथो हार हो ।
लुम्बिनीले अन्तिम तीन ओभरमा पाँच विकेट गुमाउँदा २४ रन बनाएकाे थियो । थप दुई रन बनाउन नसक्दा लुम्बिनी लगातार चार खेलमा पराजित भयो ।
उत्कृष्ट प्रदर्शन गरेका क्यानेडियन अलराउन्डर थाकरले पाँच विकेट लिँदा २३ रन खर्चिए । अन्तिम बलमा आउट भएका सन्दिप जोराले १६ रन जोड्न सके ।
त्यसअघि १९औं ओभरको दोस्रो बलमा किशोर महतोले बेन कटिङलाई ३ रनमा विकेटकिपर आसिफ शेखबाट क्याच गराए ।
लुम्बिनीका ओपनर आशुतोष घिरैयाले १४ बलमा ८ रन मात्र जोड्दा अर्जुन साउदले २० रन जोडे ।
कप्तान रोहित पौडेल ३० रन र टम मुर्स ३१ रनमा आउट भए ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको लुम्बिनीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको जनकपुरले ९ विकेट गुमाएर १३६ रन मात्र बनाउन सकेको हो ।
जनकपुरका लागि कप्तान तथा ओपनर अनिलकुमार साहले ४५ रन जोडे । उनले ३९ बलमा १ चौका र ४ छक्का प्रहार गरे ।
अर्का ओपनर आसिफ शेखले १६ रन जोड्दा लाहिरू मिलन्थाले २४ रन बनाए । त्यसपछिका ब्याटर भने चल्न सकेनन् ।
हर्ष थाकर र जिमी निशम एक एक रनमै आउट भए । दुवैलाई डेब्यू खेलाडी अभिसेष गौतमले आउट गरे ।
मोहमद मोसिन ३ रन र शेर मल्ल शून्यमा आउट भए । दुवैलाई कप्तान रोहितकुमार पौडेलले एलबिडब्लूको धरापमा पारेका थिए । अन्तिम ओभरमा शाद बिन जफरले हेमन्त धामीलाई ९ रनमा आउट गरे । जफरले नै ललित राजवंशीलाई अन्तिम बलमा रनआउट गरे । शुभ कंसाकरले नटआउट २२ रन जोडे ।
बलिङमा लुम्बिनीका अभिसेष गौतमले तीन विकेट लिए भने रोहित पौडेल र शाद बिन जफरले दुई दुई विकेट हात पारे ।
प्रतिक्रिया