सुदूरपश्चिम रोयल्सविरुद्ध चितवन राइनोज ३३ रनले विजयी

सुदूरपश्चिम रोयल्सविरुद्ध चितवन राइनोज ३३ रनले विजयी



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सविरुद्ध ३३ रनको जित निकालेको छ ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा चितवनले प्रस्तुत गरेको १६५ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले १८.२ ओभरमा सबै विकेट गुमाएर १३१ रनमात्र बनाउन सक्यो ।

सुदूरपश्चिमका इशान पाण्डेले ३५, सैफ अली जैबले १८, विनोद भण्डारी १०, ब्रान्डन म्याकमुलेन १३, दिलप्रित बज्याले १२, आरिफ शेखले ४, कप्तान दीपेन्द्रसिंह ऐरीले १, नरेश बुढाएरले ५, स्कट कुगेलेइनले १६ र नरेन साउदले ८ रनको योगदान दिए ।

बलिङमा चितवनका रिजन ढकाल, निकोल लोफ्टी–इटन, कप्तान कुशल मल्ल, र अमरसिंह रौटेलाले २–२ विकेट लिए । शोहिल तनविर र रन्जित कुमारले एक विकेटको योगदान दिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको थियो । चितवनका हसन एइसाखिलले सर्वाधिक ६५ रन जोड्दा रवि बोपाराले आक्रमक ब्याटिङ गरे । उनले १८ बलमा ३६ रन बनाए । कप्तान कुशल मल्लले १३ र बिपिन रावलले १७ रनको योगदान दिए ।

बलिङमा सुदूरपश्चिमका स्कट कुगेलेइनले २, कप्तान दीपेन्द्रसिंह ऐरी, ब्रान्डन म्याकमुलेन र सैफ अली जैबले एकएक विकेट लिएका थिए ।

एनपीएलमा सुदूरपश्चिमको यो पहिलो हार हो । यसअघि भएका ३ वटै खेलमा सुदूरपश्चिमले जित निकालेको थियो । सुदूरपश्चिमले लुम्बिनी लायन्स, काठमाडौं गुर्खाज र विराटनगर किंग्सलाई पराजित गरेको थियो ।

चितवनको यो तेस्रो जित हो । कर्णाली याक्ससँग पराजित भएको चितवनले काठमाडौं गुर्खाज र पोखरा एभेन्जर्सलाई पराजित गरेको थियो ।

चितवनले यसअघि पहिलो र दोस्रो खेलमा क्रमशः काठमाडौंविरुद्ध पाँच विकेटको र पोखरा एभेन्जर्सविरुद्ध ८७ रनको जित निकालेको थियो । तेस्रो खेलमा भने चितवनले कर्णाली याक्सविरुद्ध ६ विकेटको हार बेहोरेको थियो ।