बाजुरामा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन जना घाइते

बाजुरामा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन जना घाइते



काठमाडौं । बाजुरा मार्तडीमा आइतबार दिउँसो गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बडीमालिका नगरपालिका–८ मा रहेको मालिका मन्दिरमा दर्शन गरेर फर्किने क्रममा सुपप्र ०१ ००१ च ४३१६ नम्बरको गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

एक जनाको घटनास्थलमा र एक जनाको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन् ।

घटनास्थलमा कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका-१७ की ३१ वर्षीया गायत्री पन्तको र उपचारका क्रममा सोही जिल्ला भीमदत्त–१८ की राधिका भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

दुर्घटनामा जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयका कार्यालय सहयोगी गौमुल गाउँपालिका–४ बस्ने २५ वर्षीय रमेश धामी, कञ्चनपुरको कृष्णपुर–५ गुलरियाका मोहनदेव भट्ट र भीमदत्त–१७ का ३९ वर्षीय लोकेन्द्र पन्त घाइते भएका उनले बताए।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल बाजुरामा राखिएको छ ।

घटनामा परी घाइते भएका तीनै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । थप उपचारका लागि हेलिकप्टरमार्फत अन्यत्रै लग्ने तयारी भइरहेको उनले बताए ।