काठमाडौं । भारतलाई हराउँदै १९ वर्षमुनिको पुरुष एशिया कप क्रिकेटको उपाधि बंगलादेशले जितेको छ । यूएईमा बंगलादेशले दिएको एक सय ९९ रनको लक्ष्य पछ्याएको भारत ३५ ओभर दुई बलमा एक सय ३९ रन बनाउँदा अलआउट भयो ।
भारतका मोहम्मद अम्मानले सर्वाधिक २६ रन बनाए । बंगलादेशका अजिजुल हाकिम र इकबाल होसाइन इमोनले समान तीन विकेट लिए । पहिले ब्याटिङ गरेको बङ्गलादेशका लागि मोहम्मद शिबाब जेम्सले ४० रन बनाए । भारतका युद्धजित गुहा, चेतन शर्मा र हार्दिक राजले समान दुई विकेट लिए ।
बंगलादेशले पाकिस्तानलाई र भारतले श्रीलङ्कालाई हराउँदै फाइनलमा पुगेका थिए । एशियाली क्रिकेट परिषद् (एसीसी) को आयोजनामा यूएईमा भएको पुरुष यू-१९ एशिया कपमा नेपाल पनि सहभागी भएको थियो । नेपालले अफगानिस्तानसँगको खेल जिते पनि समूह चरणबाटै बाहिरिएको थियो ।
प्रतिक्रिया