म्याग्दीको धौलागिरिमा संकटापन्न वन्यजन्तु रेडपाण्डा भेटियो

म्याग्दीको धौलागिरिमा संकटापन्न वन्यजन्तु रेडपाण्डा भेटियो



म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–३ मुनाको बञ्चरेडाँडा जङ्गलमा सङ्कटापन्न जङ्गली जनावर रेडपाण्डा (हाब्रे) भेटिएको छ । समुद्री सतहबाट दुई हजारदेखि चार हजार आठ सय मिटरको उचाइमा बसोबास गर्ने रेडपाण्डालाई सरकारले सङ्कटापन्न वन्यजन्तुको सूचीमा राखेको छ ।

मुना मालिका पुगेर फर्कने क्रममा धौलागिरि गाउँपालिका जनप्रतिनिधि र कर्मचारीको टोलीले समुुद्री सतहदेखि तीन हजार एक सय मिटर उचाइमा रेडपाण्ड भेटाएका हुन् । धौलागिरि गाउँपालिकाका कर्मचारी तेजिन्द्र पुनले रेडपाण्डाको तस्वीर र भिडियो खिचेर वन प्राविधिकलाई उपलब्ध गराउनुका साथै सार्वजनिक गरेका थिए ।

साविक मुना गाविसको जङ्गलमा पहिलोपटक रेडपाण्डा भेटिएको स्थानीयवासी पुनले जानकारी दिए । डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख विष्णुप्रसाद अधिकारीले बञ्चेडाँडामा भेटिएको जनावर रेडपाण्डा भएको पुष्टि गर्दै रेडपाण्डा संरक्षणका लागि मन्त्रालय र दातृ निकायका परियोजनामा कार्यक्रम प्रस्ताव गर्ने बताए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत रेडपाण्डालाई संरक्षितको सूचीमा राखिएको हो । रेडपाण्डा संरक्षण गर्न नेपाल सरकारले सन् २०१९ देखि २०२३ सम्म रेडपाण्डालाई पर्यटनसँगै जोडेर विशेष संरक्षण गर्ने नीति लिएको छ ।

रेडपाण्डाको चोरी सिकारमा संलग्नलाई एक वर्षदेखि १० वर्ष कैद र एक लाखदेखि पाँच लाख रुपैयाँ सम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था छ । पछिल्लो अध्ययनअनुसार हाब्रेको सङ्ख्या नेपालमा पाँच सयदेखि एक हजार वटा रहेको अनुमान गरिए पनि दुई सय ३७ वटाको मात्र यकिन भएको छ ।

विश्वमा नेपाल, चीन, भारत, भुटान र म्यानमारमा मात्र हाब्रेको बासस्थान छ । नेपालमा एलुरेन्स फ्युजन्स जातको हाब्रे रहेको छ । नेपालको २४ वटा जिल्लामा हाब्रे पाइने रेडपाण्डा नेटवर्कले जनाएको छ ।