अनुसन्धानलाई प्रभावित पार्ने गरी गतिविधि नगर्न गृहमन्त्री लेखकको आग्रह

अनुसन्धानलाई प्रभावित पार्ने गरी गतिविधि नगर्न गृहमन्त्री लेखकको आग्रह



विरेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले रवि लामिछानेमाथि भइरहेको अनुसन्धानलाई प्रभावित पार्ने गरी गतिविधि नगर्न आग्रह गरेका छन् । आज सुर्खेतको विरेन्द्रनगरमा सञ्चारकर्मीसँग उनले लामिछानेमाथि प्रहरीबाट अभद्र व्यवहार भएको भन्ने हल्ला गलत भएको बताए । न्यायपूर्ण ढङ्गले अनुसन्धान अगाडि बढेको गृहमन्त्री लेखकको भनाइ छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनुसन्धानलाई प्रभावित पार्ने गरी बोल्नु ठिक नभएको भन्दै उहाँले कसैले पनि अनुसन्धानलाई प्रभावित गर्ने, अदालतलाई प्रभावित गर्ने, न्यायिक प्रक्रियालाई प्रभावित पर्ने ढङ्गे बोल्न नहुने बताए ।

हिजो माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमा रवि लामिछानेमाथि सरकारले अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरेको टिप्पणी गरेका थिए । गृहमन्त्री लेखकले सडकमा हुल बाँधेर कसैलाई न्याय नमिल्ने भन्दै अनुसन्धानमा प्रभाव पर्ने काम नगर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्तालाई आग्रहसमेत गरे ।

प्रदेशस्तरीय सुरक्षा परिषद्को बैठकमा सहभागी हुन सुर्खेत पुग्नुभएका गृहमन्त्री लेखकले कर्णाली क्षेत्रमा शान्ति सुरक्षामा त्यति धेरै चुनौती नभएको तर सुरक्षा चुनौतीलाई ध्यानमा राखेर काम गर्न प्रदेशका सबै सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए ।