प्रधान सेनापति सिग्देल भारत प्रस्थान

प्रधान सेनापति सिग्देल भारत प्रस्थान



काठमाडौं । प्रधान सेनापति अशोक राज सिग्देल भारत प्रस्थान गरेका छन् । भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा उनी मंगलबार भारत प्रस्थान गरेका हुन् ।

सैनिक श्रीमती संघकी अध्यक्ष तथा उनकी श्रीमती नीता क्षेत्री सिग्देल सम्मिलित ९ सदस्यीय भ्रमण दलका साथ भारत प्रस्थान गरेका प्रधान सेनापतिलाई बलाध्यक्ष रथी प्रदीप जंग के.सी.ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए ।

औपचारिक भ्रमणमा सहभागी हुनु पूर्व प्रधान सेनापति सिग्देललाई मंगलबार जंगी अड्डामा आयोजित एक कार्यक्रमका बिच सम्मान गारत अर्पण गरिएको थियो । प्रधान सेनापतिमा नियुक्त भए पश्चात् उनले पहिलो पटक विदेश भ्रमण गर्न लागेका हुन् ।

भ्रमणका दौरान प्रधान सेनापति सिग्देललाई २७ गते भारतका राष्ट्रपतिले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ । त्यस्तै भ्रमणका क्रममा उनले भारतका उच्च पदस्थ पदाधिकारीहरूसँग भेटघाट गर्ने छन् ।

प्रधान सेनापति सिग्देलको अनुपस्थितिमा बलाध्यक्ष रथी प्रदीप जंग के.सी.ले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने छन् ।

प्रधान सेनापतिसहितको भ्रमण दल मंसिर ३० गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।