नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक श्रेष्ठ पक्राउ

नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक श्रेष्ठ पक्राउ



काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक शशीकिरण श्रेष्ठलाई १३ वर्षपछि पक्राउ गरेको छ ।

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकाले उनलाई काठमाडौंको स्वयम्भूबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

‘भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकाले फैसला कार्यान्वयनका लागि हाम्रो टोलीले पक्राउ गरेको हो,’ उनले भने ।

श्रेष्ठविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएपछि १३ वर्षदेखि फरार रहेका उनले तत्कालीन समयमा कर्जा प्रवाह गर्दा अख्तियारको दुरूपयोग गरी ३९ करोड ८९ लाख रुपैयाँ हानी गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको निष्कर्ष छ ।

पक्राउ परेका उपप्रबन्धक श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि सोमबार अदालतमा पेस गरिने प्रवक्ता अधिकारीले जानकारी दिए ।