काठमाडौं । विदेशमा रहेको कांग्रेसको संगठन नेपाली जनसम्पर्क समितिका पदाधिकारी वा सदस्य दुई प्रकृतिका हुने भएका छन् । संशोधित नियमावली गत सोमबार बसेको कांग्रेस केन्द्रीय सम्पादन समितिको बैठकले अनुमोदन गरेसँगै नेपाली नागरिकता त्यागेका गैरआवासीय नेपाली जनसम्पर्क समितिको अध्यक्ष वा सदस्य बन्न पाउने छन् । तर कांग्रेसको महाधिवेशन प्रतिनिधि वा महासमिति सदस्य बन्नका लागि क्रियाशील सदस्य हुन अनिवार्य गरिएको छ । क्रियाशील सदस्य नेपाली नागरिक मात्र बन्न पाउने व्यवस्था पछिल्लो संशोधित नियमावलीमा उल्लेख गरिएको छ ।
पार्टीको जनसम्पर्क सम्पर्क समिति हेर्ने जिम्मेवारी पाएका किरण पौडेलका अनुसार गैरआवासीय नेपाली जनसम्पर्क समितिको जुनसुकै पदमा बस्न पाउँछ । तर पार्टीको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य बन्नका लागि नेपाली नागरिक हुनु अनिवार्य छ । उनले भने, ‘बाधा अड्काउ फुकाउ धारा उपयोग गरेर विधानको धारा १४ निलम्बन गरेर केन्द्रीय कमिटीको बैठकले यो नियमावली संशोधन गरेको हो । आउँदो महाधिवेशनमा धारा १४ संशोधन हुनसक्छ ।’
भदौ १६ गते बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले विधानको धारा १४ को उपधारा ४, ५ र ६ निलम्बन गर्ने निर्णय गरेको थियो । उक्त निर्णय मंसिर २४ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अनुमोदन गरेको छ । यो निर्णय अनुमोदन भएसँगै अब गैरआवासीय नेपाली कांग्रेसको जनसम्पर्क समिति सदस्य, पदाधिकारी हुन पाउने तर महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य हुन क्रियाशील सदस्य अनिवार्य हुनुपर्ने व्यवस्था लागू भएको छ ।
महाधिवेशन र महासमितिमा हुने सहभागिता संख्यामा पनि नयाँ व्यवस्था गरिएको छ । कम्तीमा एक सय जना क्रियाशील सदस्य र जनसम्पर्क सदस्य रहेका देशबाट महाधिवेशन र महासमिति प्रतिनिधि १–१ जना हुने व्यवस्था गरिएको छ । ५ सयभन्दा बढी सदस्य रहेको देशबाट ७ जना महाधिवेशन प्रतिनिधि र ३ जना महासमिति बैठकमा सहभागी हुन पाउने छन् ।
दुई हजार वा उक्त संख्याभन्दा बढी क्रियाशील र जनसम्पर्क समिति सदस्य भएका देशबाट महाधिवेशनमा १४ र महासमिति बैठकमा ६ जना सहभागी हुन पाउने गरी नयाँ व्यवस्था राखिएको छ ।
नेपाली कांग्रेसले ३६ देशमा रहेको जनसम्पर्क समितिलाई मान्यता दिएको छ । यसअघि समितिको अध्यक्ष बन्न नेपाली नागरिक र पार्टीको क्रियाशील सदस्य हुनु अनिवार्य थियो ।
प्रतिक्रिया