झापाको शिवसताक्षीका चार वडा ‘नुनिया धानको पकेट क्षेत्र’ घोषणा

झापाको शिवसताक्षीका चार वडा ‘नुनिया धानको पकेट क्षेत्र’ घोषणा



झापा । झापाको शिवसताक्षी नगरपालिका परम्परागत धानको संरक्षणमा जुटेको छ । पालिकाले चार वडालाई लोपोन्मुख नुनिया धानको पकेट क्षेत्र घोषणा गरेको छ । वडा नम्बर १, ४, ७ र १० लाई कालो नुनिया धानको पकेट क्षेत्र घोषणा गरिएको हो ।

अन्य धानभन्दा ढिलो र थोरै फल्ने भएकाले किसानले विगतमा खेती गर्न छाडेका कारण कालो नुनिया लोपोन्मुख अवस्थामा पुगेको छ । मिठो स्वाद र सुगन्धका कारण नुनिया धान महँगो मूल्यमा बजारमा बिक्री हुन्छ ।

शिवसताक्षी वडा नम्बर ७ मा रहेको कञ्चन जैविक विविधता संरक्षण विकास समितिसँग सहकार्य गरेर नगरपालिकाले नुनिया धानलगायत परम्परागत धानको बीउ संरक्षण र खेतीका लागि अभियान सञ्चालन गर्दै आएको शिवसताक्षी नगरपालिकाकी उपमेयर नरमाया कार्कीले बताए ।

उनले नुनिया धानको खेती गर्ने किसानलाई धानखेती गरेको जमिनको मात्राका आधारमा आर्थिक अनुदानसमेत उपलब्ध गराउँदै आएको जानकारी दिए ।

कालो नुनिया धानको भात मिठो हुने र प्रतिमन चार हजार रुपैयाँका दरले बिक्री हुने जैविक विविधता संरक्षण समितिका अध्यक्ष डिल्ली पौडेल बताए । समितिले किसानलाई कालो नुनियाको खेती गर्न प्रोत्साहित गरिरहेको हुँदा यसको खेती बर्सेनि विस्तार हुँदै गएको दाबी गरे ।

पछिल्लो समय कालो नुनिया धानको माग अत्यधिक बढेको हुँदा किसानले पनि खेतीमा चासो बढाएको उनको भनाइ छ । समितिले यसपालि किसानलाई सात टन कालो नुनियाको बीउ बिक्री गरेको जनाएको छ ।