सालझण्डी–ढोरपाटन खण्डको काम १४ वर्षमा ३० प्रतिशत मात्र

सालझण्डी–ढोरपाटन खण्डको काम १४ वर्षमा ३० प्रतिशत मात्र



बाग्लुङ । रुपन्देहीको सालझण्डी–ढोरपाटन खण्ड आयोजनाको काम १४ वर्षमा ३० प्रतिशत मात्र सम्पन्न भएको छ । पहाडी जिल्लालाई तराईसँग जोड्नका लागि वि.सं. २०६७ देखि शुरू भएको आयोजनाको कामले गति लिन नसकेको हो ।

रुपन्देहीको सालझण्डीबाट शुरू भएको सडकले पाल्पा, अर्घाखाँची, गुल्मी र बाग्लुङ गरी पाँच जिल्लालाई जोडेको छ । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन जोड्ने मुख्यमार्गका रूपमा रहेको यस खण्डको ट्र्याक खुलेदेखि स्तरोन्नति हुन नसकेको हो ।

सालझण्डीबाट ढोरपाटनसम्म एक सय ९७ किलोमिटर लामो यस खण्डअन्तर्गत अहिलेसम्म १८ किलोमिटर मात्रै कालोपत्र भएको आयोजना कार्यालयले जनाएको छ ।

यसमध्ये रुपन्देहीमा चार दशमलव पाँच किलोमिटर र अर्घाखाँचीमा १३ दशमलव पाँच किलोमिटर मात्रै सडक कालोपत्र भएको सालझण्डी–ढोरपाटन सडक आयोजना कार्यालयकी सूचना अधिकारी इञ्जिनियर कृष्टिना थापाले जानकारी दिए । अहिले पाँच वटै जिल्लाका विभिन्न खण्डमा ग्राभेलिङसहित काम भइरहेका उनले बताए ।

ट्र्याक खुलेको लामो समयसम्म सडक स्तरोन्नति नहुँदा ढोरपाटन पुग्ने आन्तरिक तथा बाह्य पर्यटकले सास्ती खेप्नुपरेको ढोरपाटन–९ का बमबहादुर सुनारले बताए । साँघुरो सडक, खाल्डाखुल्डी र हिलाम्य हुँदा पर्यटकका गाडी बीच बाटोमा बिग्रिने हुँदा अलपत्र पर्ने गरेका उनको भनाइ छ ।